ताजा अपडेट »

सुनको दरमा नयाँ रेकर्ड थपिँदै, प्रतितोला ७३ हजार ५ सय

सोमबार, ०९ भदौ २०७६

भाद्र ९,
बुटवल । आज सोमबार सुनको मूल्य १ हजारले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको छ ।

सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो ।

यता तेजावी प्रतितोला सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ । विश्वमा देखिएको व्यापारिक विवादका कारण बजार अस्थिर र शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएकाले मूल्य बढेको हो । पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ । विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको हो ।