ताजा अपडेट »

नाडा अटो शो भोलिबाट, ७५ हजारले अवलोकन गर्ने अनुमान

सोमबार, ०९ भदौ २०७६

भाद्र ९,
काठमाण्डौं । काठमाडौं । नेपालको इतिहासलाई नियाल्दा हिटलरको उपहार स्वरुप राजा त्रिभुवनको लागि पहिलो सवारीसाधन नेपाल भित्रीएको थियो । खासै लामो इतिहास नभए पनि नेपालमा पछिल्ला दिनमा सवारीसाधनको बजार विस्तारले निकै रफ्तार समातेको छ ।

हाल, अन्तर्राष्ट्रियस्तरमा नाम कमाएका अटो उत्पादक कम्पनीले उत्पादन गरेका सवारिसाधन आधिकारीक वितरक मार्फत नेपाली बजारमा प्रबेश गरिरहेका छन् । त्यसैले पछिल्लो समय अटोबजारसमेत प्रतिस्पर्धी बन्दै गएको छ । सवारीसाधन आयातकर्ताको हक र हितमा कामगर्न २०३२ सालमा छाता संगठनको रुपमा अटोमोबाइल एशोसिएस अफ नेपालको स्थापना भयो । भने २०६१/६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) भयो । २०७२ मा उक्त संस्थाले आफ्नो नाम पुनः परिवर्तन  गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल बनायो । यही संस्थाले सवारीसाधनको बिक्री-वितरणलाई सहज बनाउने उद्देश्यअनुरुप १९९८ बाट नाडा अटो शो आयोजना गर्ने निर्णय गर्यो । सुरुवाति दिन हरेक २ वर्षमा आयोजना हुने अटो शो पछि आएर हरेक वर्ष हुने गरेको छ । १४ औं संस्करणसम्म आइपुग्दा यस्तो छ, अटो शोको इतिहास ।

यस वर्षको मेलामा २३ चारपाङ्ग्रे र १९ दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाउने भएको नाडाले जनाएको छ । ६ दिनसम्म संचालन हुने सवारीसाधन सम्बन्धी नेपालकै ठूलो मेला तथा प्रदर्शनीमा संसारकै चर्चित सवारीसाधन कम्पनीहरुले सहभागीता जनाउने भएका हुन् । अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहने छ । प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा ब्लक राखिने छन ।

यो वर्ष चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी हुने भएका छन् । त्यस्तै दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स ब्रान्डको सहभागिता रहने छ । यस वर्षको अटो शोमा करिब ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् । -मेरोअटो