भाद्र ८,
लामो समयदेखि चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्मध्ये एक ‘प्रेमगीत ३’ को शिर्ष गीत महँगो खर्चमा रेकर्ड गरिएको छ । फिल्मको गीत रेडियो नेपालको भव्य सभा हलमा ६ देखि ७ लाखमा शनिबार रेकर्ड गराइएको निर्माता तथा कलाकार सन्तोष सेनले जानकारी दिए ।
‘फूल हैन’ फेम्ड गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा फिल्ममा प्रमुख भूमिकामा अभिनय गर्न लागेका कलाकारहरुको पनि कोरस गायन छ । अभिनेता प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङ, निर्माता सन्तोष सेन, नव-अभिनेता मनिष राउत, अभिनेता शिव श्रेष्ठ, बाल कलाकार अनुभव रेग्मीलगायतले गीतको कोरसमा आवाज दिएका हुन् । ‘प्रेमगीत’ सिरिजका निर्माता सेनले गीतलाई स्तरिय बनाउन कुनै कसर नछाडेको बताए । ‘करीब ७० देखि ८० जना बाध्यबाधक राखेर हामीले लाइभ बाजागाजासहित गीत रेकर्ड गराएका हौं । यो गीतले फिल्मको पुरा मर्मलाई समेट्छ, त्यसैले गीतलाई राम्रो बनाउन कुनै कञ्जुसाईं गरेका छैनौं’, उनले भने । नेपाल आर्मीबाट अर्केस्ट्रा बजाउने र गुम्बाबाट मन्त्र वाचन गर्ने लामा गुरुहरु ल्याएर गीत रेकर्ड गरिएको उनले बताए । फिल्मको कन्टेन्ट हेभी भएका कारण गीत पनि त्यही अनुसार रेकर्ड गराइएको निर्माता सेनको भनाई छ । शिर्ष गीतको भिडियो पनि आकर्षक बनाइने उनी बताउँछन् । चलन चल्तीको रेकर्डिङ शैलीभन्दा विल्कुलै पृथक किसिमले रेकर्ड गराइएको गीतमा केही दृष्टिविहीन गायक-गायिकाहरुको पनि कोरस गायन छ । निर्माता सेन यो नेपालको सबैभन्दा ठूलो रेकर्डिङ रहेको बताउँछन् ।
केही समययता यस फिल्मका कलाकारहरु वर्कसपमा व्यस्त छन् । दशैंपछि फिल्मको छायांकन सुरु हुँदैछ । चाँडै निर्माण टिम पत्रकार सम्मेलन गरेर अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दैछ । तीन करोडको लागतमा निर्माण हुन लागेको फिल्म ‘प्रेमगीत ३’ का लागि ‘गीत’ क्यारेक्टरमा २७ सय यूवतीलाई उछिन्दै क्रिस्टिना छानिएकी थिइन् । उनले यस फिल्ममा अभिनेता प्रदीपसँग रोमान्स गर्नेछिन् । प्रदीपको बाल्यकालको भूमिका अनुभवले निर्वाहा गर्दैछन् । सन्तोष भिलेनको भूमिकामा देखिनेछन् । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्माता सेन र ‘डमरुको डण्डीवियो’ फेम्ड निर्देशक छेतेन गुरुङले मिलेर निर्देशन गर्दैछन् । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्मको आधाभन्दा बढी दृश्य राजधानीमै भव्य सेट निर्माण गरेर खिचिँदैछ । ‘प्रेमगीत ३’ मा अभिनेता शिव श्रेष्ठले राजाको भूमिका निभाउँदैछन् । सुनिल थापा, प्रेम पुरी, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणालगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
प्रतिक्रिया