भाद्र ७,
काठमाण्डौं । नेपालमा वार्षिक ४० अर्ब रूपैयाँको औषधि खपत हुने गरेको छ । नेपालीमा विभिन्न रोगको लागि प्रयोग गर्दै आएको औषधिको ४५ प्रतिशत स्वदेशमा नै उत्पादन हुने गरेको छ भने बाँकी ५५ प्रतिशत विदेशबाट आयात हुने गरेको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए ।
नेपालमा उत्पादित औषधि पनि अन्तर्राष्ट्रिय गुणस्तरको भएको केसीको भनाइ छ । नेपालमा औषधि उत्पादन गर्ने ५५ वटा कम्पनी भए पनि ४–५ वटा कम्पनीले मात्रै विदेशमा औषधि निर्यात हुने गरेकोछ । नेपालबाट औषधि निर्यात हुने देश अफ्रिका मात्रै रहेको औषधि व्यवस्था विभागले जनाएको छ । अफ्रिकामा नेपालबाट नेसनल हेल्थ केयर, गोरखा आयुर्वेद, सूर्य हर्बल कम्पनीले अफ्रिकामा ट्याब्लेट र क्याप्सुल निर्यात गर्ने गरेको विभागले जनाएको छ । नेपालमा बनाइने औषधिमा प्रयोग हुने कच्चा पदार्थ र लागु औषधका रुपमा प्रयोग हुने चर्चालाई औषधि विभागले भने अस्वीकार गरेको छ । औषधि व्यवस्थापक केसीले भने–‘केही समय अघि एउटा औषधिमा प्रयोग भएको थियो तर अहिले त्यो औषधि दर्ताबाट हटाइएको छ । त्यस्तो कच्चा पदार्थ नेपाल ल्याउन पाइँदैन ।’
नेपालमा उत्पादन भएका औषधिहरू निर्यातयोग्य भएको र प्रविधिमा आधारित रहेकाले नेपालमा उत्पादन हुने औषधिमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको केसीले बताए । औषधिमा विश्वव्यापी नियम र मापदण्ड एउटा लागू हुने भएकाले अरू देशको जस्तै हाम्रो देशमा पनि गुणस्तरयुक्त औषधि उत्पादन हुने गरेको उनले बताए । नेपालमा औषधि उत्पादन गर्नको लागि २५ वटा कम्पनी आउने क्रममा रहेको केसीले भने । नेपालमा विदेशबाट झोल, मलम, सुईजन्य औषधिलगायतका जोखिमयुक्त औधषि आउने गर्दछ ।
नेपालमा टाइम फर्मास्युटिकल्स प्रालि नेपालको गिलिपाइड–२’, एरिस्टो फर्मास्युटिकल्स भारतको एसिटप, एसियन फर्मास्युटिकल्स प्रालि नेपालको रापिड २०, लोमस फर्मास्युटिकल्स प्रालि नेपालको मेट्रो ४००, भेगा फर्मास्युटिकल्स प्रालि नेपालको इन्डोसेफ ५०, किङस् हर्बल प्रालि नेपालको लाक्सा १०० र ३००, एक्लोमेड प्रालि भारतको प्यानोपाज आइभी नामक औषधि नेपाली बजारमा गर्न रोक लगाइएको छ ।- आर्थिकन्यूज
प्रतिक्रिया