ताजा अपडेट »

३ सुत्रीय माग राख्दै भिम अस्पतालका स्वास्थ्यकर्मी अनशनमा

बुधबार, १६ भदौ २०७८

भैरहवा । भैरहवा स्थित भिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आमरण अनशनमा बसेको छन् । भिम अस्पतालका कर्मचारी माथि भई रहेका अत्याचार, अन्याय, र निरंकुशताको बिरोधमा ३ सुत्रिय माग सहित अस्पताका अहेब गोपाल उपाध्यायले आमरण अनशन सुरु गरेका हुन् ।

अस्पतालको मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले अस्पतालमा निरंकुशता देखाएको बताउदै तत्काल उनको तत्काल सरुवा गरिनु पर्ने, अस्पतालमा कार्यरत कर्मचारी र अस्पताल बिकास तर्फका अस्थायी कर्मचारी बिच असमान तलब र कोभिडमा खटिएका कर्मचारीहरुलाई स–सम्मान उनिहरुले पाउनु पर्ने कोभिड भत्ता भुक्तानीको माग राख्दै उपाध्यायले आमरण अनशन सुरु गरेका छन् । उनिसंगै अस्पतालका शशिकान्त उपाध्याय लगायत अस्थायी कर्मचारीले पनि अनशनमा साथ दिएका छन् ।

हिजो मात्रै भिम अस्पताल ब्यवस्थापन समितिले कोभिडको समयमा अस्पताललाई सहयोग गरेको बताउदै १ सय भन्दा बढीलाई प्रमाण–पत्र सहित सम्मान गरेको थियो । अस्पताल ब्यवस्थापन समितिले कोभिडमा खटिएका कर्मचारीलाई हेला गर्दै अन्यलाई मात्रै सम्मान गरेकोले केही स्वास्थ्यकर्मिले असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएका भिम अस्पतालका ३ जना स्वास्थ्यकर्मिलाई अस्पतालको मेसु शकुन्तला गुप्ताले स्पष्टिकरण सोधेको थिईन । गुप्ताले अहेबद्वय गोपाल उपाध्याय, शशिकान्त उपाध्याय र डाक्टर सञ्जिव बाबु घर्तिलाई स्पष्टिकरण सोधिएको छ । सो स्पष्टिकरण पनि फिर्ता लिनु पर्ने अनशनरत् स्वाथ्यकर्मिको माग रहेको छ ।

आमरण अनशनमा रहेको गोपाल उपाध्यायले अस्पतालमा निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । कर्मचारीलाई हेपेर राख्न खोज्ने र आफ्नो केही कुरा राख्दा कर्मचारीलाई कार्यवाही गर्ने उनको बानी रहेको उपाध्यायले बताए ।

यस बिषयमा मेसु गुप्ताको प्रतिक्रिया लिन खोज्दा उनिसंग सम्पर्क हुन सकेन । यता यसै बिषयमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालका केही कर्मचारीले मनोमानी गर्न खोजेको आरोप लगाएका छन् । अस्पतालमा अस्थायी तर्फका केही कर्मचारीले आफुखुशी अस्पताल चलाउन खोज्ने, सामाजिक सञ्जालमा जथाभावी अस्पतालको प्रतिष्ठामै आँच पुग्ने गरि आक्षेप लगाएको कारण मेसुले स्पष्टिकरण सोधको जानकारी दिए । भण्डारीले अस्पताललाई सहयोग गर्नेहरुलाई सम्मान गरेको र अबको केही दिनमा स्वास्थ्यकर्मिलाई पनि सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए ।

उनले कार्यवाही गर्ने÷नगर्ने अधिकार अस्पताल ब्यवस्थापन समितिमा रहेको भए पनि तत्कालको लागी स्पष्टिकरण फिर्ता नलिने भण्डारीको भनाई छ । आन्दोलनकारीले सेवा प्रभावित गरे प्रशासनको सहयोग लिने चेतावनी दिए ।