ताजा अपडेट »

तालिबानले कति हतियार कब्जा गर्यो ?

बुधबार, १६ भदौ २०७८

काठमाडौँ । अमेरिकाले अफगानिस्तान पूर्ण रुपमा छोडेको छ । यससँगै अब अफगानिस्तान पूर्ण रुपमा तालिबानको नियन्त्रणमा रहेको छ ।  अमेरिकी सेनाले काबुल छोडेपछि तालिबान लडाकुहरुले हवाई फायर गरेर खुसियाली मनाएका थिए । 

अमेरिकाले अफगानिस्तान छोडेपछि तालिबानसँग कति हतियार छन् भन्ने विषयमा चर्चा भैरहेको छ । अगस्त १५ मा तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिए पछि तालिबान लडाकु अमेरिकी हतियार बोकेको अवस्थामा देखिएका थिए । यस बाट अमेरिकाले अफगानी सैनिकलाई दिएका धेरै जसो हतियार तालिबानले लागिसकेको सजिलै अनुमान लगाउन सकिन्थ्यो ।

हालै सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा तालिबान लडाकु कंधार विमानस्थलमा अमेरिकी ब्ल्याक हक हेलिकप्टरलाई चलाई रहेको देखिन्छ । चार ब्लेडवाला बहुउद्धेश्यीय यो हेलिकप्टर रनवेमा सुस्त सुस्त हिडिरहेको देखिन्छ ।  यो भिडियोले सारा विश्वलाई एउटा सन्देश दिएको छ ।  तालिबान पहिलो जस्तो पुराना पिकअप, ट्रक त असाल्ट राइफल लिएर घुमिरहेका छैनन् ।

तालिबानले अफगानी नेशनल डिफेन्स एण्ड सेक्युरीटी फोर्सेसका सैनिकले एक पछि अर्को आत्म्सपर्पण गरेपछि अमेरिकाले उनीहरुलाई दिएका सबै जसो हतियारमा कब्जा जमाएका थिए ।  तालिबानले यो रणनीतिक रुपमा नै कब्जा गरेको देखिन्छ ।

अमेरिकाको अफगानिस्तान पुन: निर्माण विशेष महानिरीक्षकको रिपोर्टका अनुसार अफगानी वायु सेनासँग लडाकु हेलिकप्टर र विमान गरेर १६७ एयरक्राफ्ट थिए । अहिले यो स्पष्ट भएको छैन की १६७ मा तालिबानले कतिमा नियन्त्रण लिएको छ । बिबिसीले हैस्ल गरेको सेटेलाइट तस्बीरमा कान्धारस्थित विमानस्थलमा कैयौं सैनिक रनवेमा देखिएका छन् । बिभिन्न स्रोतबाट सार्बजनिक भएका विमानस्थलका तस्वीरमा एयरक्राफ्ट लाइनसँग राखिएको र सैनिकले सुरक्षा दिएको देखिएको थियो ।

यसबाट अमेरिकाले दिएका यी लडाकु विमान तालिबानले कान्धारबाट अन्य ठाउमा सारेको हुनसक्ने अनुमान गरिएको छ ।तालिबानले हेरात, खोस्त, कुन्दूज र मजार-ए -शरिफ लगायत नौ अफगानी एयरबेसमा यसअघि नै कब्जा गरेको थियो । तर अहिलेसम्म कति एयरक्राफ्ट जफत गर्यो भन्ने स्पष्ट भएको छैन ।

विभिन्न मिडिया रिपोर्टका अनुसार तालिबानले कब्जा गर्नुपुर्व नै कैयौं एयरक्राफ्ट  उज्बेकिस्तानको टर्मेज विमानस्थलमा समेत पुर्याइएको सार्बजनिक भएको छ । विमानस्थलको सेटेलाइट तस्बीरमा विमानस्थलमा एमआइ-१७, २५, ब्ल्याक हक्स, ए-२९ लाइट जस्ता लडाकु एयरक्राफ्ट देखिएको बताइएको छ । यी एयरक्राफ्ट अफगानी सेनाको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकी सरकारको एक रिपोर्टका अनुसार अमेरिकाले २००३ र २०१६ का बीचमा अफगानी सेनालाई ठुलो संख्यामा हतियार दिएको उल्लेख छ । जसमा ३ लाख ५८ हजार भन्दा बढी राइफल, ६४ हजार भन्दा बढी मेशीन गन, २५ हजार भन्दा बढी ग्रिनेड लन्चर, २२ हजार भन्दा बढी हमवी (सबै खाले हतियार चलाउन मिल्ने गाडी) रहेका छन् ।

त्यस्तै २०१७ को एक रिपोर्टका अनुसार अमेरिकाले अफगानी सेनालाई २० हजार एम १६ राइफल दिएको थियो । भने २०१७ देखि २०२१ सम्म ३५ सय एम ४ राइफल र ३ हजार हमवी दिएको उल्लेख छ ।अफगानी सेनासँग मोबाइल स्त्रैक फोर्स गाडी समेत थिए । जसको प्रयोग तत्काल गर्नुपर्ने अवस्थामा गरिन्थ्यो । 

यी मध्ये एयरक्राफ्ट बाहेक अन्य हतियार तालिबानले धेरै जसो कब्जामा लिएको र प्रयोग गरेको अनुमान गरिएको छ । तर धेरै जसो एयरक्राफ्ट भने तालिबानले चलाउन नसक्ने अमेरिकी विश्लेषकहरु दाबि गरेका छन् ।

अमेरिकाले काबुल विमास्थलमा छोडेका एयरक्राफ्ट निष्क्रिय

अमेरिकाले अफगानिस्तानमा छोडेका सैनिक एयरक्राफ्ट, हतियारसहितका गाडीलाई निस्क्रिय गरेर गएको खुलेको छ ।अमेरिकी सेनाका प्रमुख जनरल केनेथ म्याकेन्जीले अफगानिस्तानमा ७३ एयरक्राफ्ट र करिब सय गाडीलाई निस्क्रिय गरेको बताएका छन् ।उनका अनुसार अब यी एयरक्राफ्ट कहिल्लै उड्ने छैनन् भने कसैले प्रयोग गर्न पनि सक्ने छैन ।

अमेरिकी सैनिकले काबुल छोडेपछि तालिबानका लडाकु विमानस्थलको ह्यांगरमा पुगेका छन् । उनीहरुले विमानस्थलमा रहेका अमेरिकी एयरक्राफ्टको अनुगमन गरिरहेका छन् । अमेरिकाले आफ्नो अत्याधुनिक रकेट डिफेन्स सिस्टमलाई पनि निस्क्रिय गरेर काबुल विमानस्थलमै छोडेको छ ।

यसै सिस्टमबाट अमेरिकाले सोमबार इस्लामिक स्टेटले प्रहार गरेका रकेटलाई ध्वस्त गरेको थियो ।अमेरिकाले छोडेका यी हतियारसहितका एयरक्राफ्ट र गाडी यसअघि अफगानी सेनालाई दिएको थियो तर अफगानी सेनाले तालिबानसँग आत्मसपर्ण गरेपछि अहिले सबै हतियार निस्क्रिय गरेर अफगानिस्तान छोडेको छ । यस अघि अफगानी सेनालाई दिएका हतियार तालिबानले लागे पछि अहिले विमानस्थलमा रहेका हतियार निष्क्रिय गरेको छ ।