ताजा अपडेट »

पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा सकियो, अब 'मिनिमल लकडाउन' हुने

मंगलबार, १५ भदौ २०७८
1 Shares

परासी । कोरोना महामारीका कारण पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा सकिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी अबदेखि ‘मिनिमल लकडाउन’ हुने जनाएको छ ।

मगंलबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा सकिएको र मिनिमल लकडाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले रेडियो जानकारी दिए । अब यसअघि निषेध गरिएको विद्यालय, हाटबजार, चलचित्र हल, खेल क्षेत्र सबै खुला हुने भएको छ । तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने सूचनामा जनाईएको छ ।

यस्तै स्थानीय तह, सम्पूर्ण सुरक्षा निकायहरुले आ–आफ्नो क्षेत्र अन्तर्गत स्वास्थ्य सावधानी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने सन्दर्भमा अनिवार्य रुपमा मास्कको प्रयोग, स्यानिटाइजर, सामाजिक एवं भौतिक दुरी कायम गर्न गराउन सर्वसाधारणमा जनचेतना फैलाउनका लागि माइकिङ्ग, पर्चा पम्पलेट र स्थानीय संचार माध्यममा प्रचारप्रसार गराउने सम्बन्धमा आवश्यक व्यवस्था मिलाई सम्पूर्ण क्रियाकलाप संचालन गर्न जारी सूचनामा भनिएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी गरिएको थियो । निषेधाज्ञा अन्त्य नहुँदै जिल्लामा हाटबजार खोल्न थालिएपछि प्रशासनले कोरोना संक्रमण दरको आधारमा निषेधाज्ञा अन्त्य गरेको हो ।