बुटवल । ५८ औं राष्ट्रिय खेलकुद परिषद स्थापना दिवस तथा जिल्ला पदाधिकारीहरुको पदभार ग्रहण, सम्मान, स्वागत तथा विदाई समारोह सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समिति लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वलीलाई सम्मान तथा स्वागत गर्दै जिल्लाका कावा कार्यालय प्रमुख कृष्ण शाक्यले खेलकुदको गौरव बढाउने गरि कार्ययोजना बनाउन सुझाव दिए ।
कार्यक्रममा परिषदका सदस्य सचिव भिम वलीले बर्दियादेखि पूर्वी रुकुम, पश्चिम नवलपरासीसम्मको भौगोलिक परिवेशमा रहेको लुम्बिनी प्रदेशमा रुपन्देहीलाई केन्द्र बनाएर गुरुयोजना अगाडि बढाउने बताए । स्थानिय पालिकाहरुसंग समन्वय गरि अघि बढाउन सके यसले खेल गतिविधिलाई चलायमान बनाउने उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त अध्यक्ष मनोज गौचनसहित पदाधिकारीहरुले पदभार ग्रहण गर्दै खेल क्षेत्रको विकाससंगै युवा खेलाडी उत्पादन तथा प्रशिक्षकको दक्षता वृद्धिका कार्यक्रम गरिने बताए । नवनियुक्त अध्यक्ष मनोज गौचनको नेतृत्वमा उपाध्यक्ष शंकर पाण्डे, कोषाध्यक्ष सुनिल पाण्डे तथा सदस्यहरु श्रद्धा कुवर, हेमा बराल, दुर्गा रासकोटी, अंकित कुर्मी, बिनोद थापा, विनय कसौधन सहित ९ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण देवकोटा, सदस्य उमा अधिकारी, जिल्ला खेलकुद विकासका निवर्तमान अध्यक्ष योग गुरुङ, उपाध्यक्ष मुक्ति अधिकारीले सबै तहका बिचमा सहकार्य जरुरी रहेको बताए । लुम्बिनी प्रदेशका ६ जिल्लामा पदभार ग्रहण सम्पन्न भैसकेको छ। बाँकी जिल्लाहरुमा पनि पदभार सकेर कार्ययोजना तयार गरेर सार्वजनिक गरिने उनले बताए ।
प्रतिक्रिया