गुल्मी । एउटै राजनीतिक दलमा स्थिर भएर बस्न सक्दैनन् विशेष गरि दलित समुदायबाट नेतृत्वमा पुगेकाहरु । पहिला कांग्रेस, पछि माओवादी जनयुद्धमा होमिएका गुल्मी दर्लिङ्गका समुन्द्र बिक गुल्मी कै साविक मुसिकोट र बडागाउँ गाविसको पार्टी ईन्चार्ज थिए । शान्ति प्रकृयापछि उनी गाउँ फर्किए । त्यहाँ फर्किए पछि इमान्दार उनी घरको पुरानो ऋण तिर्ने साहुको खर्यानमा खर काट्ने काममा लागे । त्यो ऋण चुक्ता भएपछि भारततिरको रोजगारिमा हिडेका उनी राजनीतिबाटै पलायन भए ।
जनयुद्ध अवधीभर निकै दुःख गरेर उनले माओवादी संगठन बनाएका थिए। तर, आफू भने बन्न सकेनन् । पञ्चायत कालदेखि राजनीतिमा लागेका हालको मुसिकोट नगरपालिका–३ चुँदरीगाउँका चन्द्रबहादुर सुनार र गोमबहादुर सुनार साविक बडागाउँ गाउँ पञ्चायतको वडा सदस्य पनि भए । बहुदलीय ब्यवस्था पछि पनि उनीहरु राजनीतिमा सक्रिय भए । उनीहरु दुबै जना नेकपा एमालेमा सक्रिय हुँदै आइरहेका थिए । माओवादी जनयुद्ध पछि गोमबहादुर सुनार माओवादी पार्टीमा लागे ।
चन्द्रबहादुर सुनार भने एमाले मै रहे । उनीहरु काका भतिजा हुन् । उनीहरुको उमेर अहिले क्रमशः ८० देखि ७० वर्षको हाराहारीमा पुग्यो । यो अवधीमा राजनीतिबाट उनीहरु न आफू बने न त्यहाँका दलित समुदायको अवस्था सुधार्न नै सके । चन्द्रबहादुर सुनार भन्छन्–‘कुनै दलमा लागेपनि कसैले केहि गर्न सकेनन् अब म कतै लाग्दैन स्वतन्त्र बस्छु।’
२०४४ सालदेखि नै नेपाली कांग्रेस पार्टीमा लागेका गुल्मी कै मालिका गाउँपालिका–२, दर्लिङ्गका दलबहादुर परियार हालसम्म ३ वटा राजनीतिक दल परिवर्तन गरे । तर उनको अवस्था जस्ताको त्यस्तै छ । २०५८ सालमा नेपाली कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गरेका उनले सो पार्टीम छउञ्जेल निकै दुःख गरे । शान्ति प्रकृयापछि २०६७ सालमा आएर उनी माओवादी परित्याग गरी एमालेमा प्रवेश गरे । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा नम्वर २ को वटा सदस्यमा विजयी भएका उनी अहिले मालिका गाउँपालिका कार्य समिति सदस्य छन्। तर,उनी भन्छन्–‘आफ्नो आर्थिक अवस्था र दलितका समस्या जस्ताको त्यस्तै छन्।’
‘मैले जस्तै दलित समुदायका सचेत मानिस धेरैले दल पनि फेरे होलान्। तर, यो समुदाय नै एकताबद्ध हुन नसके दलित समुदायको मुिक्तका कुरा कागज र भाषणमा मात्रै सिमिति हुने छन्’–वडासदस्य परियारले भने । यी दलित समुदायका प्रतिनिधिमूलक पात्र हुन्। अझ भनौं जुन कुनै राजनीतिक दलका प्रयोगकर्ता मात्रै हुन् ।
यी र यस्ता पात्रहरुले धेरै नेताहरुलाई चुनाव जिताएर माथी पठाए तर उनीहरु तलको तलै रहे र उनीहरुको समुदायको अवस्था जस्ताको त्यस्तै रहिनै रह्यो । अर्को कुरा गरिवी, अभाव र प्रलोभनले दलित समुदायका अगुवाहरुमा राजनीतिक विचलन पनि आएको पाइन्छ ।
माओवादी द्वन्द्वकाल देखिका पुराना नेता गुल्मीको वामीमैदानका गोबिन्द बिक (आकाश) अहिले माओवादीबाट समानुपातिक सांसद भइसक्ने बेला हो । उनी दलित समुदायबाट माओवादीका पुराना र सक्रिय नेता मध्ये एक हुन् । तर, उनी पछि कहिले वैद्य त कहिले विप्लव समूहमा लागेर संस्थापन पक्ष छाडेर पछि परे।
हुन त अहिले उनी संस्थापन पक्ष मै फर्किएका छन् । नयाँगाउँका चन्द्रबहादुर सुनार (शरद) पनि उनकै समकक्षी हुन् । उनी पनि माओवादी विभाजन तिरै लागे । तर, अहिले उनी पनि संस्थापन पक्ष मै फर्किएका छन्।
उनी पछि माओवादीबाट समानुपातिक सांसदको हैसियत राख्ने ठाउँ बनाएका तम्घासका धर्म बिश्वकर्मा नेकपा फुटे पछि ओली समुहमा लागे । अब नेकपा एमालेमा उनको हैसियत के हुने हो र उनको राजनैतिक भविष्य कस्तो रहने हो ? त्यो भने हेर्न बाँकी नै छ । एमाले कै पुराना नेता र गुल्मीको दलित आन्दोलनका खम्बा ठानिने गणेश विश्वकर्मामा पनि राजनीतिक विचलन आयो ।
एमालेबाट समानुपातिक सांसदको प्रमुख दावेदार भई रहेको बेला उनी माओवादी पार्टीमा प्रवेश गरे । पछि सो पार्टीमा पनि उनको कुरो मिलेन र एमाले मै फर्किए । यसरी दल परिवर्तनले दलित समुदायबाट विभिन्न पार्टीमा नेतृत्व गरिरहेका ब्यक्तिहरु मध्ये धेरैलाई ‘अभागीलाई खानी बेलामा रिस उठ्छ’ भन्ने उखानसिद्ध पनि भएको छ ।
दलित समुदायका नेतृत्वहरुको दल परिवर्तन वर्गिय मुक्तिका लागि नभई ब्यक्तिगत स्वार्थका लागि देखिन्छ । जसका कारण दल फेर्दै जाँदा न राजनीतिमा उसले आफ्नो भविष्य बनाएको छ न समुदायलाई नै माथि उठाउने काम गरेको छ ।
यसर्थ अबको युवा पिँढीले त्यस्ता प्रवृत्ति पात्रहरुसंग यो प्रश्न गर्नै पछि कि–‘ दलित समुदायको भोट तान्न बन्नेहरु हर्ताकर्ता, अब कहिलेसम्म राजनीतिक दलको बनिरहने, कहिलेसम्म प्रयाग भइरहने?’ बरु आउनुहोस् एउटै टेवुलमा बसेर समीक्षा गरौं र जहाँ दलित समुदायको मुक्ति र उत्थान हुन्छ त्यसैमा गोलबद्ध हौं ।
प्रतिक्रिया