गुल्मी । बिहान उठ्नु, घरायसी काम सकेर खान खाई अर्कैको मेलापातमा हिँडेर जिविका चलाउनु गुल्मीको पाटखर्क र दुनाम गाउँका दालित समुदायका महिलाहरुको दैनिकी हो। पाटाखर्क गाउँ भन्दा अझ पछाडि परेको दलित बस्ती हो मालिका गाउँपालिका–२,साविक दर्लिङ्ग गाविसको दुनामको दलित बस्ती। झण्डै तीन दर्जन घरधुरी रहेको दुनामको दलित बस्ती गरिबीको उदाहरण दिने थलो हो। जहाँका कैयौं बालबालिका कुपोषणको शिकार हुन बाध्य छन्।
उनीहरुले बिहान एकनि आमाको काख पाएपनि दिनैभर आमाको साथ पाउन सक्दैनन्। कतिपय आमाहरु दुधे बालबालिकाहरुलाई डोकोमा बोकेर मेलापात लैजान्छन्। त्यहाँ पुगेपछि खेतको ढिक–कान्लो वा बारीको एक छेउमा डोकोमा थुनेर मेलापातको काम गर्छन्। खेतबारीमा च्याँ–च्याँ बालबालिका रोएको सुनेपछि मात्र स्तनपान गराउन पुग्छन्। दुनाम गाउँका दलित अगुवा रबिन्द्र बिककाअनुसार त्यस गाउँका दलित समुदायको तिन महिना भन्दा बढी खान पुग्ने जमिन छैन ।
जसको कारण पुरुषहरु भारततिर रोजगारी गर्न जाने,कसैले साहुको हलो थाम्ने र महिलाहरुले खेतीपाती नगरि घरको चुलो बल्ने अवस्था छैन्। अधिकांश बालबालिकाहरु डोको मै थुनिन्छन् , डोको मै हुर्किने गरेका छन् । दुनावमा स–साना घरका झुपडी थिए । तिनै झुपडीहरुमा मालिका गाउँपालिकाको खरको छानामुक्त गाउँपालिका कार्यक्रम अन्तरगत टिनको छाना वितरण गरिएपछि थोरी गाउँको मुहार फेरिएको थियो।
त्यहिपनि केहिदिन अघि अविरल वर्षासँगै आएको पहिरोले त्यस गाउँलाई कुरुप बनाई दिएको छ। तीन घर विस्थापति भएर अन्यत्रै सरेका छन्। रबिन्द्र बिक भन्छन्–‘त्यहाँको दयनीय अवस्था देख्ने –सुन्ने तमाम नेताहरु छन्। तर,समधान गरि दिने कोही छैनन्। हरेक पटक हुने चुनाव ताका आय आर्जन मुलक कार्यक्रममार्फत उनीहरुलाई गरिबीबाट मुक्त गरि दिने आश्वासन नआएका होइनन्। तर चुनाव जितेपछि कोही फर्केर त्यस बस्तीलाई हेर्दैनन्।’
२०६४ सालको निर्वाचनमा सर्वहारा बर्गको पार्टी भनिएको माओवादीका चन्द्रबहादुर थापा ( सागर ) ले चुनाव जिते । त्यसपछि दुई –दुई पटक नेकपा एमाले कै गोकर्णराज बिष्टले चुनाव जिते । अखिर जो जसले चुनाव जितेपनि दुनाम गाउँका दालितहरुले भने हारिरहेका छन्। नेपाल काग्रेस मालिका–२ का वडा कार्य समिति सभापति भरत केसीले पनि दुनाव गाउँका दालितहरुको मुहार फेर्ने गरि कुनै कार्यक्रम पार्न कसैले नसको स्वीकार गर्दै त्यस गाउँको समस्या सञ्चार माध्यमले उजागार गरि दिए नेताहरुको ध्यानकृष्ट हुन्थ्यो कि भन्ने बिश्वास ब्यक्त गर्छन्।
त्यस वडाका वडाध्यक्ष युद्धवीर घर्तीले पनि वडा स्तर र पालिका स्तरबाट उनीहरुलाई माथी उठाउने गरि कार्यक्रम पर्न नसकेको गुनासो गर्छन्। गाउँपालिका अध्यक्ष रितबहादुर थापाले त्यस बस्तीलाई सुरक्षित स्थानमा सार्न पालिकाले सिफारिस गरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाइए पनि प्राधिकरणको विज्ञ टोलीको छनौटमा पर्न नसकेर त्यति कै रहेको प्रतिकृया दिए।
पालिकाहरुबाट सञ्चालित विभिन्न रोजगारमूलक कार्यक्रमहरुमा पल्सर बाइक कुदाएर हिड्ने भारतीय पेन्सनरका छोराहरुले रोजगारी पाएको चर्चा आईरहँदा दुनाम गाउँ जस्ता स्थानका गरिव – दलितहरुले भने त्यो कार्यक्रम कुन चरीको नाम हो? भन्ने अवस्था रहेको गुनासो आई रहेको छ।
प्रतिक्रिया