भाद्र ६,
डडेलधुरा । डडेलधुराको भित्रीमधेशस्थित परशुराम नगरपालिका-८ जमरानीमा दूषित पानीका कारण झाडापखालाको प्रकोप देखिएको छ। एक साताअघि झाडापखालाका बिरामी बढ्दै गएपछि स्वास्थ्यकर्मीले पानी परीक्षण गरेका थिए। परीक्षण क्रममा पानीमा दिसामा पाइने ‘कोलिफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।
उनले भने, ‘त्यस गाउँका बासिन्दाले प्रयोग गर्ने पानी खानयोग्य छैन, त्यसैका कारण झाडापखाला फैलिएको हो।’ बिरामीको दिसा जाँच गर्दा एकजनामा पोजेटिभ अर्थात हैजा भेटिएको अवस्थीले बताए । उनले भने, ‘सबै बिरामीको दिसा जाँच गर्न सकिएको छैन। अन्यमा पनि पनि हुन सक्छ।’ बिहीवार बेलुकासम्म बिरामीको संख्या ८१ पुगेको उनले जानकारी दिए। अवस्थीले बिरामीलाई औषधीको भने कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको बताए। प्रकोप क्षेत्रमा विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरी नियन्त्रणको प्रयास भइरहेको उनले बताए। झाडापखाला नियन्त्रणका लागि पानीको मूल नै सफा गर्न आवश्यक रहेको उनको भनाइ छ। नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबरपछि बिहीबार उक्त क्षेत्रमा डडेलधुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो।
हैजाको प्रकोप अत्यधिक भएको खबर पाएपछि औषधिसहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। दूषित खानेपानीको कारण हैजा फैलँदा तीन गाउँका ८१ जना बिरामी परेका छन्। ती बिरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले बताए। ‘गाउँको माथिल्लोपट्टि रहेको खानेपानीको मुहान दूषित भएकाले हैजा फैलिएको हो’ उनले भने, ‘पानीमा दिसामा पाइने ‘कोलीफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलिएको पाइएको छ।’ गाउँलेले प्रयोग गर्दै आएको खानेपानीको नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरिया भेटिएको डडेलधुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले बताए।
प्रतिक्रिया