भाद्र कृष्ण अष्टमीका दिन हिन्दु धर्मावलम्बीले धुमधामसँग मनाउने पर्व हो कृष्ण जन्माष्टमी। कृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको जन्मोत्सवको दिन हो। कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । पुराणमा दानव र आसूरी प्रवृत्तिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजन–किर्तन गर्नुका साथै विशेषगरी भक्तहरूले व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । यस दिन धार्मिक प्रवचन, पूजा–पाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् ।
महाभारतमा उल्लेख भएअनुसार प्राचिनकाल द्वापर युगको अन्त्यमा भारतको मथुरा राज्यमा उग्रसेनले राज्य गर्दथे । उग्रसेनालाई उनकै पुत्र कंशले राजगद्दीबाट हटाएर आफू राजा भएको थियो । उग्रसेनकी पुत्री देवकीको विवाह मथुराकै वसुदेवससँग भएको थियोे । कंश राजगद्दीमा बसेपछि आतंकको राज्य चलायो।
आफ्नै बहिनी देवकी र बसुदेवलाई घर पुर्याउन जाँदा ‘देवकीको आठौं पुत्रले तेरो बध गर्ने छ ।’ भन्ने आकाशवाणी सुन्यो । त्यसपछि कंशको क्रोधको सिमा रहेन । सो वाणी सुनेपछि देवकी र वसुदेवलाई कारागारमा थुन्यो र उसले देवकी को छैटौं गर्वबाट जन्मेका शिशुलाई निर्ममतापूर्वक हत्या गर्यो । सातौं गर्भलाई भने वसुदेवकी जेठी पत्नीको गर्भमा सारेको कथा पाइन्छ तिनै सातौ पुत्र बलराम कृष्णका दाजु हुन् । भाद्र कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्र बुधबार रात्रीको समयमा देवकिका गर्भबाट आठौं बालक भगवान श्रीकृष्णको जन्म भएको हो । उनै भगवान श्रीकृष्णले कंशको बध गर्नु भएको हो।
भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो ।
युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यहि युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । भगवान श्रीकृष्णले आफ्नै सारथीका रुपमा रहेका अर्जुनलाई उनको दीनहीनताप्रती सहानुभूति दर्शाउदै ज्ञान,कर्म र भक्ति भएको गीताको उपदेश दिनुभएको छ।यसमा अठार अध्यायहरु रहेका छन् । गीता त्यो दिव्य ज्ञान हो , जसलाई वेदान्तको सारभूत ज्ञान मानिएको छ । गीता अध्यात्म-विज्ञानसम्बन्धि अहिलेसम्म उपलब्ध कृतिहरूमा अद्वितीय मानिन्छ ।
आज पश्चिमी मुलुकमा र आधुनिक विद्याकेन्द्रहरूमा समेत अनिवार्य रुपमा गीताको अध्यन-अध्यापन गर्नेगरिएको देखिन्छ । विश्वमा प्रचलित धेरै भाषाहरुमा गीताको अनुवाद भैसकेको छ। गीताको ज्ञानयोग,कर्मयोग र भक्तियोगको धारण गरेर परम सिद्धि आवश्यक देखिन्छ । गीतामा ज्ञान समान पवित्र अर्को कुनै चीज नभएको उल्लेख गरिएको छ। त्यस्तै भक्तियोगका माध्यमबाट परम पद पाप्त गरेका कुरा पनि उल्लेख छन् । राजा जनकले कर्म गरेरनै सिद्धि प्राप्त गरेका कुराहरु गीतामा उल्लेख छन् ।
भगवान श्रीकृष्णले गीता भन्नु भएको छ ‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन’ कर्म गर्नमा तिम्रो अधिकार छ । तर, कर्मको फलमा कहिल्यै अधिकार छैन । त्यसैले तिमी कर्मफल प्राप्तिको कारण नबन । त्यस्तै कर्म नगर्नमा वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस् । आसक्तिले उक्त कर्मले मानिसमा अभिमान र अहंकार पैदा गराउँछ । जो सदा सन्तुष्ट भई समग्र कामना त्यागेर कर्म गर्दछ,त्यस्तो मान्छे कहिल्यै पनि कर्मको बन्धनमा पर्दैन ।
आज शिक्षक, पत्रकार, वकिल, अधिकृत, नेता, न्यायाधीश , ब्यापारी,कर्मचारी , विद्यार्थी सबैले आ-आफ्नो कर्म गरेका छन् । तर, पनि सन्तुष्ट छैनन् । यसको मुख्य कारण उनीहरु कर्मको फलमा लिप्त छन् । तसर्थ कर्म फलप्रति कुनै पनि अपेक्षा नराखी निरन्तर सत्कर्म तर्फ लाग्नुनै उत्तम हुन्छ । आज वर्षेनी श्रीकृष्ण जन्माष्टमी मनाउँदै गर्दा भगवान श्रीकृष्णले भगवत गीतामा उल्लेख गरेका ज्ञानलाई धारण गर्न आवश्यक देखिन्छ। जीवनलाई सार्थक बनाउन सत्कर्मको आवश्यक छ। फलमा अपेक्षा नराखी सदैव परहित र परसेवाका निम्ति गरिएका कर्मनै सत्कर्म हुन् । तसर्थ हामीपनि निस्काम कर्मतर्फ अभिमुख हौं । यसमा नै सबैको भलो छ ।
प्रतिक्रिया