ताजा अपडेट »

कृष्णजन्माष्टमी : देशभर मनाइँदै

शुक्रबार, ०६ भदौ २०७६

भदौ ६ ,

ग्लोबल आवाज
बुटवल । भाद्र कृष्ण अष्टमीका रात देशकासबै कृष्ण मन्दिरमा भव्यताका साथ कर्मका पुजारी भगवान् कृष्णको जन्मदिन मनाइँदै छ । महाशिवरात्रि, महाष्टमीको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र कृष्णजन्माष्टमीको मोहरात्रि गरी यी चार रातलाई हिन्दू धर्मशास्त्रमा महत्वको रात मानिएको छ । द्वापरयुगमा पिता वासुदेव र माता देवकीको सन्ततिका रूपमा कृष्णको जन्म भएको शास्त्रमा वर्णित छ ।

ज्योतिषशास्त्रमा सूर्य ग्रहबाट भगवान् राम अवतार, मङ्गल ग्रहबाट नृसिंह अवतार र चन्द्र ग्रहबाट कृष्णको जन्म भएको वर्णन छ । शुक्रबार मध्यरातदेखि शनिबार बिहान ३ः३० बजेसम्म अष्टमी परेको छ । माता देवकी र पिता वासुदेवबाट भगवान विष्णुको आठौं अवतारको रुपमा श्रीकष्णको जन्म भएको थियो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उनको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ ।

नेपाली संस्कृतिमा यस रातलाई मोहरात्रिको रुपमा मनाउने चलन छ  । कृष्णाष्टमीका अवसरमा उनको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगाएतका कृष्णलीलाहरुको मञ्चन गरिन्छ । भगवान श्रीकृष्णले महाभारतको युद्धका बेला धनुषधारी अर्जुनको सारथि बनेर दिएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको दर्शन विश्वमै बेजोड मानिन्छ । श्रीमदभागवत गीताको रुपमा  परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानीत छ ।