ताजा अपडेट »

तीज पर्व : आधुनिकताको शिकार नबनोस्

विहीबार, ०५ भदौ २०७६

प्राचिनकालदेखि नारीहरुको महान पर्वको रुपमा मनाइँदै आएको हरितालिका तीज प्रमुख नारी पर्व मानिन्छ । यद्यपी पछिल्ला केही वर्षहरुदेखि यसलाई नारीको मात्र पर्व भन्न नमिल्ने भन्ने विषयमा पनि बहस हुने गरेको छ । किनकि पछिल्लो समय तीज पर्वका अवसरमा हुने अधिकांश क्रियाकलापमा पुरुष सहभागिता पनि अनिवार्य जस्तो वा बढ्दो छ । तीजमा गाइने गीतदेखि नाँच्ने र दरखाने जस्ता कार्यक्रममा पुरुषहरुको सहभागिता पनि बढ्दो छ । कुनै कालखण्डमा अशिक्षा,अज्ञान,अन्धविश्वास,पहुँचको अभाव, सामाजिक /धार्मिक मान्यता लगाएत विभिन्न कारणले वर्षभरका मनका भाव पोख्ने विशेष अवसरका रुपमा बनेको धार्मिक पर्व हरितालिका तीज हाल पुरुष र महिलाको साझा मात्र होइन । माया–प्रिति,खुशीयाली,विकृति,विसंगति,भ्रष्टाचार , लगाएतका विषयहरुमा गाउने÷नाच्ने तथा मिठा परिकार खाएर रमाउने पर्वका रुपमा परिवर्तन भएको छ ।

एक दशक अघि घरभित्र भएका अन्याय–अत्याचार,माइत जान नपाएका पिडा,श्रीमान, सासु र परिवारबाट भएका उत्पिडन जस्ता विषयमा गितहरु बन्ने गर्दथे । बिस्तारै बेरोजगार, विसंगति,भ्रष्टाचार विरुद्धका आक्रोशका सांगितिक कोसेलीहरु आउन थाले त्यसैगरी सामाजिक क्षेत्रमा चर्चित तथा सफल व्यक्तित्वहरुलाई लक्षित गरी पनि तीजगीत आउन थाले । पहिले–पहिले गीतमार्फत नौं डाडा पर विवाह गरेकी चेली विभिन्न कारणले वर्षदिनको पर्व हरितालिका तीजमा पनि आउन नपाएका गुनासा तथा पिडा पोखिन्थे । त्यस्तै दूरी,अभावका कारण जन्मघरका बा–आमा,दाजू–भाई, दिदी–बहिनी लगाएत साथीभाईलाई भेट्न नपाउनुका पिडा हुन्थे ।

वर्षदिनमा एक पटक माइतीमा पकाएको खाना ‘दर’ खाने महत्व छुट्टै थियो । तर, हाल यि सबै गतिविधिमा भिन्नता तथा शैली फरक छन् । समयसँगै विकास क्रमले चाडपर्वका महत्व र शैली पनि परिवर्तन भएका छन् । तीजमा त झनै बढी भिन्नता र परिवर्तित शैली छ । अहिले पहिलेका तीज गीतका भन्दा फरक विषय छन् । चेलीहरु नौ डाडाँ टाढा होइन केही चेलीहरु सात समुुन्द्र पारी छन् । वर्षभरीका बेदना पोख्न तीज कुर्नुपर्दैन । प्रविधिको विकासले पल–पलका गतिविधि आदान–प्रदान गर्न मिल्ने भएको छ । तीजको अवसरमा एक दिन विशेष दर खान वर्षभर नै कुरेजस्तो कुर्नुपर्ने छैन ।

आमाको अनुहार हेर्न,आफन्तसँग भेट्न तीजनै कुर्नुपर्ने छैन । यि सबै गतिविधि र शैलीका लागि भन्दापनि पछिल्लो समय तीजलाई मनोरञ्जनात्मक पर्वको रुपमा बनाइँदैछ । भदौ महिनामा पर्ने तीजको अवसरमा बैसाखदेखि नै गीत–संगितमा रमाउने,तडक–भडक पहिरनमा सार्वजनिक स्थलमा रमाउने लगाएतका गतिविधिहरु बढेका छन् । यद्यपी विगतका वर्षहरुमा भन्दा यस वर्ष तीजगीतहरु भने चाँडै सार्वजनिक भएनन् । त्यसैगरी धेरै भड्किला र उच्छृङ्गल तीजगीतहरुमा पनि कमी भएको छ । जसलाई सकारात्मक मान्नु पर्दछ ।

तीजभन्दा धेरै दिनअघिदेखि नाचागान गर्ने, विभिन्न संघसंस्थाद्वारा पार्टी प्यालेसमा दरखाने कार्यक्रम गर्ने, धेरै महङ्गा गहना प्रदर्शन गर्ने लगाएतका गतिविधिहरु बढेसँगै यस्ता गतिविधिलाई विकृति पनि मानिएको छ । यसै विषयमा आवाज उठ्न थालेपछि प्रशासनले पनि कडाई गरेको छ । प्राचिन,धार्मिक,सामाजिक तथा लैंगिक महत्व रहेको हरितालिका तीजको महत्व,मर्म र विशेष्ता भन्दा पनि आधुनिकता अनुसार पर्वलाई असर गर्नेगरी मनाउनु कदापी राम्रो होइन ।

अविवाहित/विवाहित महिला आ–आफ्ना इच्छाअनुसार व्रत बस्नु दरका रुपमा निश्चित समयमा परम्परा र उपलब्ध अनुसार खाना खानु , मौलिक गीतसंगितमा रमाउनु , दक्षता अनुसार अरुलाई प्रभव र असर नपर्ने तथा आफूलाई जोखिम नहुने गरी गहना लगाउनु यस पर्वका विशेष्ता हुन् । तसर्थ पर्वको नाममा देखासिकी,भड्किलो,खर्चिलो तवरले मनोरञ्जनात्मक दृष्टकोणले मात्र मनाउनु गलत हुन्छ । किनकि धर्म,संस्कृति र पर्व हिजो अघिल्ला पुस्ताले बचाए, आजका पुस्ताले पनि बचाउन पर्दछ र नयाँ पुस्तालाई पनि सही ढङ्गबाट हस्तान्तरण गर्नु पर्दछ । हरतालिका तीज पर्वको पूवार्धमा सफलताको कामना गर्दछौं ।