ताजा अपडेट »

एसिससी यु-१९ कपका लागि नेपाली टोलीको घोषणा

विहीबार, ०५ भदौ २०७६

भाद्र ५,
काठमाण्डौं । श्रीलंकामा यसै महिनाको उत्तरार्धमा हुने एसिससी यु-१९ एसिया कपका लागि बिहीबार विहान नेपाली युवा टोलीको घोषणा भएको छ। यही भदौ १९ देखि २८ गतेसम्म हुने प्रतियोगितामा नेपालले समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्‍नेछन्। भदौ २० मा आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले समूहको दोस्रो खेलमा त्यसको दुई दिनपछि बंगलादेश तथा २४ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ। रोहितकुमार पौडेलको कप्तानीमा छानिएको १५ सदस्यीय नेपाली टोलीमा रित गौतम, पवन सर्राफ, मोहम्मद आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिश जिसी छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा पूर्व राष्ट्रिय कप्तान विनोद दास छन् भने अपूर्वा देसाईले ब्याटिङ प्रशिक्षक, अर्का पूर्व राष्ट्रिय कप्तान राजु खड्काले व्यवस्थापक, विक्रम न्यौपानेले फिजियोथेरापिस्ट तथा सुवास पाट्रोले ट्रेनरका रुपमा टोलीमा भूमिका निर्वाह गर्नेछन्।