ताजा अपडेट »

इपिजी प्रतिवेदन उपयुक्त समयमा ग्रहण हुन्छ : जयशङ्कर

बुधबार, ०४ भदौ २०७६

भाद्र ४,
काठमाण्डौं । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवम् प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् ।


नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा रहेका भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम् जयशङ्करले आज अपराह्न प्रधानमन्त्री ओलीसँग भएको भेटपछि आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । ‘प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री जयशङ्करले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगतरुपमा पनि निर्णय गर्न सहज एवम् सकारात्मक वातावरण बनेको बताए ।’ बैठकमा भएको छलफलका विषयवस्तुबारे जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताए । प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए ।

भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति उनले आभार व्यक्त गरे । सो अवसरमा भारतीय बाह्यमामिलामन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवम् गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पु¥याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गरेको जानकारी दिएका थिए । दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत भेटमा दुवै पक्षबाट प्रकट भएको थियो । एक जिज्ञासाको जवाफमा सल्लाहकार भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण हुने जानकारी दिए ।-रासस