ताजा अपडेट »

सरकारले बाँड्याे साउनमा साढे १३ लाख रूपैयाँ सहायता

बुधबार, ०४ भदौ २०७६

भाद्र ४,
काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिना साढे १३ लाख रूपैयाँ बढी आर्थिक सहायता बाँडेको छ। अर्थ मन्त्रालयले साउन मसान्तसम्म आर्थिक सहायता शीर्षकमा विभिन्‍न निकायलाई १३ लाख ६१ हजार रूपैयाँ निकासा दिएको हो।

मानवअधिकारवादी टेकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार रूपैयाँ सहायता उपलब्ध गराएको छ। मन्त्रिपरिषद्को साउन ६ र १६ गतेको निर्णयअनुरूप उक्त सहायता रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ। त्यसैगरी कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डाराको नियमित कुरूवासमेतको व्यवस्थापन खर्चवापत मासिक २५ हजार रूपैयाँ राहत रकम जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत् उपलब्ध गराउन गृह मन्त्रालयको नाममा निकासा गरेको छ। सोही अवधिमा धादिङको बेनीघाट रोराङ निवासी केशव बिसुराललाई आर्थिक सहायता उपलब्ध गराउन ५ लाख ७३ हजार रूपैयाँ निकासा भएको छ।

त्यसैगरी सर्वोच्च अदालतको आदेश बमोजिम पूर्वी चौकी-५, डोटीको खोपपश्चात मृत्यु भएका ४ जना बालबालिकाको अभिभावकलाई जनही १० लाखको दर क्षतिपूर्ति उपलब्ध गराउन २ लाख ६० हजार रूपैयाँ निकासा गरिएको छ। साउन महिनामा भ्रमण शीर्षकमा ४ लाख ४० हजार रूपैयाँ निकासा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको रसिया भ्रमणको टिकट रद्द खर्च र सहसचिवको भ्रमण खर्चका लागि उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्री यादवले रसियामा जुलाई ९–११ मा भएको कार्यक्रममा सहभागिता जनाउने तय भए पनि अस्वस्थताका कारण जनाउँदै रद्द गरेका थिए। त्यसैगरी, साउन महिनामा ५७ लाख ६५ हजार रूपैयाँ रकमान्तर गरिएको छ। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने प्रयोजनको लागि १० लाख र सरकारद्वारा गठित सरकारी, सार्वजनिक र गुठी जगगा संरक्षसम्बन्धी जाँचबुझ आयोगको लागि ४७ लाख ६५ हजार रूपैयाँ रकमान्तर गरी निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ।- नेपालन्युज