ताजा अपडेट »

संविधान दिवस भब्यताका साथ मनाउन प्रधानमन्त्रीको आह्वान

बुधबार, ०४ भदौ २०७६

भाद्र ४,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन् । ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गरे ।


आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर रमाइलो होस् ।’ संविधान जारी भएको दिन अधिकारको अवसर, सुरक्षा, सम्मान, समृद्धि र सुखद्तर्फको यात्रा भएकाले दिवस अठोट प्रतिबद्धता र सङ्कल्पको चाड भएको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीकै अध्यक्षतामा आज बसेको बैठकले असोज २, ३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ । त्यसका लागि भदौ २७ देखि नै तयारीका कार्यक्रम हुनेछन् । समितिले कागज र कपडाबाहेकका झण्डालाई निषेध गरेको छ ।


सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अङ्गिकार गरेको संविधान ठूलो बलिदान, सङ्घर्ष, त्याग र उपलब्धिको निचोड हो भन्दै प्रधानमन्त्री ओलीले संविधानले विभिन्न समयमा भएका योगदानको अभिव्यक्त, जनधारणा र जनअभिमतलाई सम्बोधन गरेको बताए । हरेक व्यक्तिका अपेक्षा जस्ताको त्यस्तै सम्बोधन नगरे पनि साझा दस्तावेजका रूपमा बृहत्तर राष्ट्रहित, राष्ट्रिय आकांक्षालाई संविधानले समेटेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘यो संविधान विगतको सङ्घर्ष, इतिहास, बलिदानको उपलब्धिको सङ्ग्रह हो, वर्तमान यथार्थको प्रतिविम्ब हो र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूपमा हो, यसमा हाम्रा विगतका आँशु र पीडा, सङ्घर्ष र बलिदानका कथा छन्, वर्तमानका जटिलता अफ्ठेरा र आवश्यकता समेटिएको छ र भावी दिनका लागि कसरी अगाडि बढ्ने भन्ने राष्ट्रिय आकांक्षा र गन्तव्य समेटिएको छ ।’

सहमतिको दस्तावेज भए पनि संविधानले हाम्रो इतिहास गौरवपूर्ण परम्परालाई अङ्गिकार गरी परम्पराको नाममा भएका अवैज्ञानिक पक्षलाई हटाएको बताउँदै संविधान जारी भएको दिन राष्ट्रिय उत्सव भएकाले सेनाको मात्रै दिवस भनेर नबस्न प्रधानमन्त्री ओलीले आग्रह गरे । सबै जनताको दिवसको रूपमा मनाउनुपर्नेमा जोड दिँदै उनले नेपालीको सबैभन्दा ठूलो चाड भएकाले राष्ट्रव्यापीरूपमा र विदेशमा बसेका नेपालीले समेत मनाउने साझा उत्सव भएको उल्लेख गरे । – रासस