ताजा अपडेट »

पर्यटक भेषमा नेपाल छिर्ने विदेशीको बढ्दो अवैध धन्दा

बुधबार, ०४ भदौ २०७६

भाद्र ४,
काठमाण्डौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेका विदेशी नागरिकले लामो समय नेपालमै बसेर अवैध धन्दा गर्दै आएको पाइएको छ। कमजोर राज्य संयन्त्रले गर्दा नेपाल विदेशीका लागि अवैध क्रियाकलाप गर्ने थलो बन्‍ने गरेको अध्यागमन विभागको तथ्याङ्‍कले देखाएको छ।

९५ प्रतिशतभन्दा बढी विदेशी नागरिक पर्यटक भिसामै नेपाल प्रवेश गर्ने विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले बताए। यसरी भिसा पाएका विदेशी नागरिकले गलत गतिविधि गर्ने र भिसा समय सकिए पनि नेपालमै गैरकानुनी बसेर अवैध गतिविधि गर्ने गरेको पाइएको छ। अध्यागमन विभागले आर्थिक वर्ष २०७५/७६ मा ५ सय ४० जना विदेशी नागरिकलाई पक्राउ गरी कारबाही चलाएको छ। वर्षौंअघि पर्यटक भिसामा आएर गैरकानुनी गतिविधि गर्ने १ सय २७ लाई जेलचलान र जरिवाना गरी देशनिकाला नै गरेको रेग्मीले बताए। विभागले गत साउन १ देखि हालसम्म १८ जना पर्यटकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ। इरानी नागरिक केरमानी एलीरेजासहित दुई पाकिस्तानी नागरिक बिनाभिसा नेपालमा बसेर क्रिश्‍चियन धर्म प्रचारप्रसार गर्दै आएको थाहा पाएपछि प्रहरी र अध्यागमन विभागले कारबाही थालेको छ।

चार जापानी, एक अस्ट्रेलियाली र दुई इन्डोनेसियाली दम्पतीलाई भिसा दुरुपयोग गरी धर्मप्रचार गरेको आरोपमा कारबाही गरेको छ। पर्यटक भिसामा भित्रिएका दुई जापानी र एक कोरियाली नागरिक पोखरामा धर्मप्रचारमा संलग्‍न भएको पाएपछि प्रहरीले पक्राउ गरेको थियो। वर्षौंदेखि पोखरामै बसेर एक अस्ट्रेलिया नागरिकले बालयौन दुराचार गरेको भन्दै प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पक्राउ परेकामध्ये इरानी नागरिक आफ्नो देशमा गलत काम गरेर नेपालमा नक्कली राहदानी बनाएर बस्‍ने गरेको भेटिएको छ। साथै, बङ्‍गलादेशी नागरिकहरू नेपाल प्रवेश गरी कल बाइपास गर्ने गरेको, कोरिया र जापानीहरू धर्मप्रचार, युरोप र अमेरिकाका नागरिक जासुसी काममा संलग्‍न हुने गरेको विभागको तथ्याङ्‍कमा उल्लेख छ।

पर्यटक भिसाको दुरुपयोग गर्दै धर्मप्रचार
पर्यटक भिसामा नेपाल प्रवेश गरेका विदेशी नागरिक नेपालमै अवैध गतिविधि गरेर वर्षौदेखि बस्‍ने गरेको पाइएको छ। ती पर्यटकमध्ये अधिकांश धर्म प्रचारमा संलग्‍न हुने गरेको पाइएको पर्यटक प्रहरीका प्रमुख अमृत बस्‍नेतले बताए। भिसासमेत थप नगरी धर्मप्रचारदेखि गैरकानुनी काम गर्दै आएको थाहा पाएपछि पर्यटक प्रहरी, नेपाल प्रहरी र अध्यागमन विभाग अनुगमन तीव्र बनाएर पछिल्लो समय सयभन्दा बढी विदेशी पक्राउ गरेको बस्‍नेतले जनाए।

नेपाल प्रवेश गर्ने अधिकांश विदेशीको पर्यटक भिसा नै हुने गरेकाले भिसा दिँदासमेत थप निगरानी गरी पदयात्रा र अन्य उद्देश्यका आधारमा मात्र भिसा दिनुपर्ने उनको सुझाव छ। पक्राउ परेका विदेशीहरू व्यापारी, धर्मप्रचार, लागूऔषध कारोबार, कल बाइपास, चोरीडकैती, नक्कली राहदानी बनाएर बस्‍ने, यौन दुराचारीसमेत भेटिएको विभागको तथ्याङ्‍क छ। विभागले प्रहरीको सहयोगमा अवैध बस्दै आएका विदेशीलाई पक्राउ गरी स्वदेश फिर्ता गराएको छ।

भिसा अवधि थप्दा गैरकानुनी गतिविधि झन् बढ्यो
पर्यटकको नेपाल बसाइ अवधि घट्दै जाँदा सरकारले पर्यटक भिसाको समय झन् बढाएको छ। पर्यटकको औसत बसाइ १२.४ दिन हुँदा भिसाको अवधि बढाएर १ सय ५० दिन पुर्‍याएपछि पर्यटक गैरकानुनी गगिविधिमा संलग्‍न हुन थालेको तथ्याङ्‍क सार्वजनिक हुन थालेको छ। यसरी घुम्‍ने बहानामा नेपाल प्रवेश गरेका पर्यटकले गैरकानुनी क्रियाकलापमा संलग्‍न भएको पाए पनि सरकारले खासै नियमन गरेको छैन। २०७४ सालमा गृह मन्त्रालयले विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरिसकेको छ। तर, हालसम्म समितिको एउटा पनि बैठक बस्‍न नसक्दा अनुगमन पक्ष शून्य छ। यसरी अनुगमन नहुँदा नेपालमा अपराधिक मानसिकता बोकेर विदेशी नागरिक पर्यटक भिसामा प्रवेश गर्ने गरेको पाइएको छ।

दुई देशबीच भिसाबारे सम्झौता भएकाले अमेरिकाका लागि १ सय ८० दिन बस्‍न पाउने प्रावधान छ। तर, अन्य मुलुकका पर्यटकका लागि १ सय ५० दिन अवधि तोकिएको छ। पर्यटकलाई उद्देश्यअनुसार कुन क्षेत्रको पदयात्रा गर्ने, कति दिन पदयात्रा गर्ने भन्ने यकीन गरी तोकेरै भिसा दिइनुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाको सुझाव छ। अनुगमन तीव्र बनाई उद्देश्य स्पष्ट भएपछि मात्र भिसा दिनु उचित हुने उनको भनाइ छ। ‘नेपाल आउने अधिकांश पर्यटक घुम्‍न आउने भए पनि १ सय ५० दिन घुम्‍ने स्थान नै छैन,’ उनले भने। तैपनि, सरकारले भिसा अवधि थपेर आपराधिक मानसिकता बोकेर नेपाल प्रवेश गर्ने पर्यटकलाई झन् सहज बनाएको उनको आरोप छ।- छेटु शेर्पा /नेपाल न्युज