भाद्र ३,
ग्लोबल आवाज
बुटवल । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबारदेखि काठमाडौँमा हुँदै छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउने कार्यक्रम छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् ।
बुधबार भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरावलोकन गर्ने छ । ‘सहकार्यका धेरै क्षेत्रहरू जस्तै आर्थिक साझेदारीलाई विभिन्न क्षेत्रसँगको सञ्जालसँग जोड्दै व्यापार, भन्सार, पानीका स्रोत, संस्कृति, शिक्षा तथा अन्य आपसी हितका विषयमा छलफलसँगै नयाँ निर्णय हुने छ ।’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल-भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो । भारतीय विदेशमन्त्री जयशङ्कर नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया