सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट ५ मनोनयन सूचि सर्वाजनिक गरेको छ ।
चलचित्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा चलचित्रकर्मीहरुसँगको बृहत छलफलपश्चात तयार पारिएको मापदण्डअनुसार कामना फिल्म अवार्डस् २०७६ को निर्णायक मण्डलले झण्डै एक महिना समय लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका चलचित्रहरु अवालोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूचि सार्वजनिक गरेको हो। सरप्राइजस्वरुप अवार्ड समारोहकै दिनमात्र सार्वजनिक गरिने निर्णायक मण्डलको मूल्यांकनअनुसार यस वर्षको कामना फिल्म अवार्डस् २०७६ को सर्वोत्कृष्ट चलचित्र विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइलीबीच भिडन्त हुने भएको छ भने सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ। यो विधामा विपीन २ चलचित्रबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन्।
मनोनयन सूचिमा चलचित्र नाई नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ। यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयनमा परेको छ। यो एउटै चलचित्रबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका छन् भने अनुभव भैरेबाट पनि मनोनयमा छन्। त्यसैगरी चलचित्र छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२/१२ विधाको मनोनयमा परेको छ। छक्का पञ्जा ३ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ। यो चलचित्रबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन्। त्यसै गरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट चलचित्र, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। यो चलचित्रबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन्।
त्यस्तै चलचित्र साईंली ११ र प्रसाद १० विधाको मनोनयमा परेका छन्। साईंली सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, संगीतकार, कथा, संवाद, गीतकार, पाश्र्वगायक र सम्पादन विधाको मनोनयमा छ भने प्रसाद सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, खलपात्र, छायांकन, ध्वनिमिश्रण र सम्पादन विधाको मनोनयमा छ। चलचित्र भिलेन ८ र यात्रा ७ विधाको मनोनयमा छ। भिलेन सर्वोत्कृष्ट अभिनेता, अभिनेत्री, नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, खलपात्र, द्धन्द निर्देशक र श्रृंगार विधाको मनोनयनमा छ भने यात्रा नवनिर्देशक, नवअभिनेत्री, कथा, सहअभिनेता, पाश्र्वगायिका, गीतकार र द्धन्द निर्देशन विधाको मनोनयमा परेको छ। त्यसै गरी चक्कर, सय कडा दस र बोबी ६/६ विधाको मनोनयनमा परेका छन्। चक्कर सर्वोत्कृष्ट नवनिर्देशक, सहअभिनेत्री, खलपात्र, छायांकन, पाश्र्वसंगीत र श्रृंगार, चलचित्र सय कडा दस निर्देशक, नवअभिनेता, सहअभिनेता, सहअभिनेत्री, पटकथा र संवादको मनोनयनमा परेको छ भने बोबी निर्देशक, नवअभिनेता, नवअभिनेत्री, संगीतकार, छायांकन र ध्वनि मिश्रणको मनोनयमा परेको छ। त्यस्तै ए मेरो हजुर ३, भैरे र बाँध मायाले ५÷५ विधाको मनोनयमा छन्।
ए मेरो हजुर ३ सर्वोत्कृट नवअभिनेत्री, संगीतकार, गीतकार, छायांकार र पाश्र्वसंगीत, भैरै पाश्र्वगायिका, बालकलाकार, छायांकन, पाश्र्वसंगीत र द्धन्द निर्देशक तथा बाँध मायाले नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, हास्यकलाकार र द्धन्द निर्देशक विधाको मनोनयमा परेका छन्। त्यसै गरी चलचित्र रामकहानी र जानी नजानी ४/४ विधाको मनोयनमा छन्। रामकहानी सर्वोत्कृष्ट अभिनेत्री, पाश्र्वगायक, हास्यकलाकार र छायांकन तथा जानी नजानी नवनिर्देशक, नवअभिनेत्री, सहअभिनेत्री र श्रृंगार विधाको मनोनयनमा परेका छन्। त्यस्तै रणविर र कथा काठमाडौं ३/३ तथा गोपी र अनुराग २/२ विधाको मनोनयमा छन्। रणविर सर्वोत्कृष्ट नवअभिनेत्री, खलपात्र र द्धन्द्ध निर्दिेशन तथा कथा काठमाडौं नवनिर्देशक, सहअभिनेत्री र खलपात्र, गोपी कथा र गीतकार तथा अनुराग संगीतकार र पाश्र्व गायक विधाको मनोनयमा छन्। त्यसै गरी कोहलपुर एक्सप्रेस र चंगा १/१ विधाको मनोनयमा छन्।
निर्देशक विधामा नम्बर बराबर भएका कारण उत्कृष्ट ६ को मनोनयमा सूचि सार्वजनिक गरिएको छ। त्यसै गरी हास्यकलाकार विधामा एउटै चलचित्र रामकहानीबाट ३ केदार घिमिरे, रविन्द्र झा र विलशनविक्रम राई मनोनयनमा छन्। केदार घिमिरे छक्का पञ्जा ३ बाट पनि यो विधाको मनोनयमा छन्। वसन्त सापकोटा २ फिल्मबाट संगीतकार तथा सुगम पोखरेल २ फिल्मबाटै पाश्र्व गायक, मेलिना राई ३ फिल्मबाट पाश्र्वगायिका, अञ्जु पन्त २ फिल्मबाट पाश्र्वगायिकाको मनोनयमा छन् भने कविराज गहतराज ४ फिल्मबाट कोरियाग्राफर, निमेष श्रेष्ठ २ फिल्मबाट सम्पादन तथा एलिष कार्की ३ फिल्मबाट पाश्र्वसंगीत र मुकेष शाह ३ फिल्मबाट ध्वनि मिश्रणको मनोनयमा परेका छन्।
आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा एसएमएस भोटको समेत व्यबस्था गरिएको छ। सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नवअभिनेता, नवअभिनेत्री, नवनिर्देशक, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ।
नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानकै खातिर सिजी कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्वेय प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुखद् निधनका बिच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको अवार्ड आयोजक समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले जनाएका छन्। निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनुभएका श्रेष्ठप्रति सच्चा श्रद्वाञ्जलि हुने विश्वास पब्लिकेसन्स्ले लिएको उनले जनाएका छन्।
प्रतिक्रिया