ताजा अपडेट »

पहिरो पिडितलाई शसस्त्रले बनायो अस्थायी आवास

सोमबार, ०२ भदौ २०७६

झण्डै डेढ करोड सहयोग संकलन

भाद्र २,
गुल्मी । गुल्मीको सत्यवतिमा पहिरोले विस्थापितभई बिद्यालयमा आश्रय लिएका स्थायिनलाई शसस्त्र प्रहरीले अस्थायी आवास निर्माण गरिदिएको छ । पहिरोबाट घरवास गुमाएकाहरुको लागि अस्थायी रुपमा बसोवास गर्न जिल्ला सदरमुकाम तम्घासबाट गएको शसस्त्र प्रहरीले अस्थायी आवास टेन्ट निर्माण गरिदिएको हो ।


पहिरो प्रभावितहरुको लागि ल्याइएका अस्थायी आवासका टेन्टहरु स्थानियले निर्माण गर्न नजानेपछि प्रहरीले निर्माण गर्ने तरिका पनि सिकाएको शसस्त्र प्रहरी वल गुल्म, गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) बिनोदराज खनालले बताए । पहिरोले घरवास गुमाएर बिद्यालयमा आश्रय लिएका स्थानियलाई बिद्यालय सुरु भएपछि सुरक्षित स्थानमा अस्थायी आवास निर्माण गरिएको हो । अस्थायी आवास निर्माणको लागि स्थानियले आग्रह गरेपछि जिल्ला सदरमुकाम तम्घासबाट टेन्ट निर्माणको लागि शसस्त्र प्रहरी टोलि प्रभावित क्षेत्रमा पुगेका नायव उपरिक्षक (डिएसपी) खनालले बताए । यस अघि पनि प्रहरीले २ दर्जन वढि अस्थायी रुपमा टेन्ट प्रयोग गरेर घरहरु निर्माण गरेका थिए ।


पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई अस्थायी शिविरमा राखिएको छ । अस्थायी आवासमा बस्नका लागि आबश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु सहित हस्तातरण गरिदैँ आएको छ । बिभिन्न संघ–संस्थाको सक्रियतामा स्कुलमा बस्दै आएका पहिरो पिडितहरुको लागि आबश्यक १ सय २० वटा सेट किचनकिड (४६ वटा आइटम भएका सामाग्रीहरु) प्रभावितलाई बितरण गरिएको प्रमुदख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट लगायत अरु धेरै आबश्यक सामाग्रीहरु हस्तातरण गरिएको थियो ।

झण्डै डेढ करोड सहयोग संकलन
सत्यवतीका पहिरो पिडितको खातामा झण्डै डेढ करोड नगद राहत संकलन भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं.३ र ४ को विपद व्यवस्थापनका लागि तपशीलका १ करोड २३ लाख रुपैयाँ संकलन भएको सत्यवति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहेक जिन्सी सामाग्रीहरु पनि छन् । विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाले सहयोग गरेका छन् ।सहयोग प्राप्त हुने क्रम जारी रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।


ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ । पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो ।