भाद्र २,
बेन स्टोक्सले एजेस शृंखलाअन्तर्गत दोस्रो टेस्टको अन्तिम दिन लर्ड्स क्रिकेट मैदानमा शतक बनाए पनि इङ्ल्यान्डलाई जित दिलाउन सकेनन्। अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट बराबरीमा सकिएको छ।
बराबरीसँगै भ्रमणकारी अस्ट्रेलियाले शृंखलामा १–० को अग्रता कायमै राखेको छ। अघिल्लो दिन घाँटीमा बलमा लागेका स्टिभ स्मिथ अन्तिम दिनमा मैदानमा उत्रिएनन्। जोफ्रा आर्चरले फालेको बाउन्स बलले स्मिथको घाँटीमा लागेको थियो। स्मिथको स्थानमा मार्नुस लबुसचग्नेले खेलेका थिए। टेस्ट क्रिकेटमा यसरी घाइते खेलाडीको स्थानमा खेलाडी परिवर्तन गरिएको यो पहिलो पटक हो। लबुसचग्ने अर्धशतक बनाए। ५९ रन जोडेका लबुसचग्नेले ट्रभिस हेडसँग चौथो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। ट्रभिसले अविजित ४२ रन बनाएपछि दोस्रो टेस्ट बराबरीमा सकिएको हो।
पहिलो दिन नै वर्षाले प्रभावित बनेकाले खेल नभएको लर्ड्स टेस्ट तेस्रो दिनमा लन्चपछि खेल हुन सकेको थिएन। ९४–४ को स्थितिबाट इङ्ल्यान्डले अन्तिम दिन सुरु गरेको थियो। स्टोक्सले ११ चौका र तीन छक्कासहित १ सय १५ रन बनाएपछि इङ्ल्यान्डले दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो। अन्तिम दिन घरेलु टोलीका जोस बट्लरले ३१ रन बनाउँदा जोनी बेयरिष्टोले अविजित ३० रन बनाए। २ सय ६७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले अन्तिम दिन ६ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सकेपछि खेल बराबरीमा सकिएको हो। इङ्ल्यान्डका आर्चरले र ज्याक लिचले समान ३ विकेट लिए। पहिलो टेस्ट अस्ट्रेलियाले २ सय ५१ रनले जितेको थियो।
प्रतिक्रिया