ताजा अपडेट »

पत्रकारितामा भीड तन्त्र हाबी : सञ्चार मन्त्री बाँस्कोटा

आइतबार, ०१ भदौ २०७६

भाद्र १,

बागलुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली पत्रकारितामा भीडतन्त्र हाबी भएको बताएका छन् । उनले भीडलाई उत्तेजित पार्ने र अराजतकतामा खेल्ने प्रवृत्ति मौलाएको आरोप पनि लगाए । बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिकको १६ औं वार्षिकोत्सवको उद्घाटन गर्न आएका मन्त्री बाँस्कोटाले संविधान र कानून माथि भएझै‌ं गरी सञ्चार माध्यम र पत्रकारले जथाभावी लेखेको टिप्पणी पनि गरे । उनले भीडतन्त्रको विषयभन्दा जनताको समृद्धिको विषय लेख्न सुझाए ।


मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल मात्र नभई आम सञ्चार कानून ल्याएर कारवाहीको दायरा बढाउने बताए । ‘अब आमसञ्चार कानून र अन्य धेरै कानून बनाएर बेथितिको नियमन गरिन्छ’ उनले भने, ‘हावादारी लेख्ने सञ्चारकर्मी र सञ्चारमाध्यम कारवाहीको दायरामा आउँछन् ।’ अपराध छोप्ने, सत्य लुकाउने, समाजलाई भ्रमित पार्ने र सामाजिक सम्बन्ध खलबल्याउने काम मिडियाले गर्न रोक्ने उनले बताए । समानुपातिक विज्ञापन र पत्रकारितामा भीडतन्त्र हटाउन खोज्दा ठूला मिडियाबाटै असहयोग भएको उनले बताए । ‘ठूला मिडिया र पत्रकार महासंघ समेत राम्रो कामको विरुद्धमा लागेँ,’ बाँस्कोटाले भने, ‘ठेक्कापट्टा, नेता, अपराध र व्यापारमा समेत लागेर मिडियाका साहुहरुले पत्रकारिताको खोल ओडेका छन् । उनीहरुको नाङ्गेझार गरेरै छाड्छु ।’ सरकार, राज्य र समाज भाँड्ने गरी आएका समाचार खण्डन गर्दै हिड्ने फुर्सद समेत नभएको उनले टिप्पणी गरे । भीडतन्त्रले चिहानमा पुगेको शव उठाउने प्रयास गरेको र मिडियाले साथ दिएको समेत आरोप लगाए ।

‘चिहानमा पुगेको राजतन्त्र अब कसैले धुपधुँवार गरेर आउँदैन,’ उनले भने, ‘इतिहासमा डाइनोसर भएको संस्थाको पक्षमा समाचार लेखेर केही फाइदा छैन ।’ उनले अब सत्ता र प्रतिपक्ष सबै मिलेर सुखी नेपाली र समृद्ध नेपालको मूलबाटोमा हिड्नुपर्ने बताए । मन्त्री बाँस्कोटाले अरु साना पार्टीको अब अस्तित्व नभएको समेत दाबी गरे । पत्रकारहरु संविधान माथि हिड्न खोजेको र विद्युतीय माध्यममा बेथिति बढेकोले बढी निगरानी र कारवाहीको अभियान थाल्न बाध्य भएको पनि उनले दाबी गरेका छन् । ‘पत्रकार प्रहरी र न्यायाधीश हैन, अहिले चितवनमा भीड देखाएर न्यायाधीश बन्न खोजिँदैछ,’ उनले भने, ‘प्रहरीको काम गर्न नदिने, हामी पत्रकार हौं भनेर राज्यलाई च्यालेन्ज दिने अधिकार कसैलाई छैन ।’ उनले श्रमजिविको हक स्थापित गर्न वर्तमान सरकार लागेको बताए । राजनीतिक परिवर्तन गर्न साथ दिएका राजनीतिक दल र पत्रकार समृद्धिको अभियानमा पनि सँगसँगै हुनुपर्ने धारणा राखेका थिए । मन्त्री बाँस्कोटाले एक वर्ष भित्र फोर जी सेवा देशभर विस्तार गर्ने, ३ वर्षमा डिजिटल नेपाल फेमवर्क बनाउने, ३ वर्षमै नेपालको आफ्नै स्याटलाईट विस्तार गर्ने जस्ता काममा लागेकोले सबैको साथ र सहयोगको अपेक्षा पनि गरे ।