ताजा अपडेट »

निर्वाचनपछि पदमा बस्न मन छैन, त्यतिन्जेल धैर्य गर्दा हुन्छः प्रधानमन्त्री

आइतबार, ०१ भदौ २०७६

भाद्र १,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको पदमा बस्न आफूलाई कुनै मन नरहेको बताएका छन्। आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनपछि  फेरि प्रधानमन्त्री बन्ने मन नभएको बताउँदै आगामी निर्वाचनसम्म धैर्य गर्न अनुरोध गरे।

'एक जनाले भनेको सुनेँ प्रधानमन्त्री लगलग काँपिरहेको छ, अब जाने भो। पद नगएको दुनिँयामा कोही देखेको छैन अहिलेसम्म। राजा महाराजा, निर्वाचित प्रतिनिधिहरुको पद कुनै न कुनै दिन जान्छ’ प्रधानमन्त्री ओलीले भने, 'आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन त्यसकारण निर्वाचनसम्म धैर्य गर्न आग्रह गर्न चाहन्छु।' केही प्रतिगामी तत्वहरु सडकमा आउँदैमा निर्वाचित सरकार डराएर भाग्छ भन्ने दिवास्वप्न नदेख्न समेत उनले आग्रह गरे। सरकारले अहिलेसम्म ठूला ठूला चुनौतीको सामना गर्दै आएको दाबी पनि गरे।

‘अहिले चिहानमा गएकालाई हड्डी फुकेर संस्था फर्काउँछु भनि परिकल्पना देख्दै उफ्रनेहरु पनि देखिन्छ । म भन्छु बेमौसमको बाजा नबजाए हुन्थ्यो ।’ उनले पहिले ठेगान लगाएका शक्तिहरुलाई फर्काउँछु भन्ने बेमौसमी बाजा नबजाउन प्रतिगामी तत्वलाई चेतावनी समेत दिए। 'ठेगान लगाएका शक्तिहरुलाई फर्काउँछु भन्नेहरुलाई सरकारले उदारता देखाएको ती शक्तिलाई नपत्याएर हो। पत्याएको दिन सरकार मैदानमा उत्रन्छ', उनले भने ।