साउन ३२,
काठमाण्डौं । यो वर्ष सरकारले सीमाभन्दा बढी आन्तरिक ऋण उठाउने तयारी गरेको छ। मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) को ६ प्रतिशत अर्थात् १ खर्ब ९५ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउने तयारी सरकारले थालेको हो।
जिडिपीको पाँच प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउनुलाई राम्रो मानिदैन तर सरकार त्यसभन्दा बढी ऋण उठाउने तयारीमा जुटेको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। त्यही लक्ष्यअनुसार सरकार अगाडि बढेको हो। आन्तरिक ऋण उठाउन सरकारको निर्देशन प्राप्त भएपछि मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक आन्तरिक ऋण उठाउने तयारीमा लागेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको आन्तरिक ऋण कहिले-कहिले र कति-कति उठाउने भन्ने सम्बन्धमा ऋणको तालिका बनाउँदैछ। ‘तालिका बनेपछि ऋण उठाउन सुरु गर्छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने। गत आर्थिक वर्षको अन्त्यमा आन्तरिक ऋण उठाउँदा वित्तीय प्रणालीमा तरलता अभाव भएको थियो ।
त्यो समस्या नहोस् भन्नका लागि यो वर्ष सुरुमै ऋण उठाउने तयारी सरकारले गरेको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने गरी काम राष्ट्र बैंकले काम सुरु गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा आन्तरिक ऋण उठाउँदा विकास निर्माणमा असर परेको भन्ने सुझाव आएपछि सरकारले यो वर्ष सुरुमै उठाउन लागेको हो। आर्थिक वर्षको अन्त्यमा एकैपटक धेरै ऋण उठाउँदा बजारमा तरलता अभाव हुने भएकाले यो वर्ष सुरुमै उठाउन लागिएको अर्थमन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो। तर, तरलता अभावले उक्त लक्ष्यभन्दा निकै कममात्र ऋण उठाएको थियो। त्यसबेला सरकारले पटक–पटक गरी कूल ९६ अर्ब ३८ करोड रुपैयाँमात्र आन्तरिक ऋण उठाएको थियो। सरकारले चालु आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ।
जसमध्ये ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ अर्थात् ६२.४ प्रतिशत चालु खर्च छुट्ट्याइएको छ। त्यस्तै ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन भएको छ भने वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ। उल्लेखित खर्च जुटाउन सरकारले ९ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। सोही अवधिमा २ खर्ब ९८ अर्ब वैदेशिक ऋण र १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने सरकारको योजना छ। जसमध्ये अहिले आन्तरिक ऋण उठाउने प्रक्रिया थालेको हो। आन्तरिकमात्र होइन सरकार वैदेशिक ऋण पनि धेरै उठाउन खोजिरहेको छ। गत आर्थिक वर्ष २ खर्ब ५३ अर्ब वैदेशिक ऋण उठाउने भनेको थियो। चालु आर्थिक वर्ष २ खर्ब ९८ अर्ब उठाउने भनिएको छ। चालु आर्थिक वर्षको बजेटमा ५८ अर्ब वैदेशिक अनुदान प्राप्त हुने अनुमान छ।- विष्णु बेल्वासे/नेपाल न्युज
प्रतिक्रिया