ताजा अपडेट »

निगमको उडान अनियमित, कार्यकारी अध्यक्ष नै विदामा

शनिबार, ३२ साउन २०७६

साउन ३२,
काठमाण्डौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान पछिल्लो एक सातादेखि अनियमित हुन थालेको छ। निगमको एउटा न्यारोवडी जहाज ग्राउण्डेड र पाइलट अभाव भएपछि उडान अनियमित भएको हो। निगम स्रोतका अनुसार बुधवारदेखि निगमको दुवई, मुम्बई लगायतको उडान ८ देखि १० घण्टा ढिला भएको छ।निगमका एक कर्मचारीका अनुसार बुधबार राती २५६ यात्रु लिएर काठमाडौं-दुवई उडान गर्न लागेको जहाज एक्कासी रोकेर आधा यात्रु न्यारोबडीमा राखेर उडान गरिएको थियो। 'दुई सय ५६ यात्रुको टिकट बुकिङ भइसकेको थियो। तर अन्तिम समयमा पाइलट नै नभएपछि केहि यात्रुलाई न्यारोबडी जहाजमा राखेर उडान गराइएको थियो,’ती कर्मचारीले भने।

उनका अनुसार बाँकी यात्रुलाई विहिबारको उडानमा ल्याइएको थियो।ती कर्मचारीका अनुसार एयरबस ३३० जहाज भएपनि पाइलट अभावले उड्न ढिला भएको छ।स्रोतका अनुसार निगममा अहिले कार्यकारी अध्यक्ष मदन खरेलनै विदामा बसेका छन्। निगममा कार्यकारी पदमा रहेका व्यक्तिनै विदामा बसेपछि व्यवस्थापन झन् विग्रिएको छ। ‘जहाज समयमा उडान नहुनुमा कार्यकारी व्यक्तिनै नहुनु हो। अध्यक्ष एक साता लामो विदामा बसेका छन्। उनले निगमभित्रकै कर्मचारीको समेत फोन उठाएका छैनन्।’ती कर्मचारीले भने,’निगमभित्रको गन्जागोलले निगमको साख अन्तर्राष्ट्रिय स्तरमै गुम्न थालेको छ।’

निगमले एउटा न्यारोबडी जहाज मर्मत गर्न नसकेर एकेएक्स कलसाइनको जहाज 'मिनिमम इक्विपमेन्ट लिस्ट'कै आधारमा जहाज उडान गरिरहेको स्रोतले जानकारी दिएको छ। 'एउटा न्यारोबडी जहाजमा समस्या आएपछि एउटा न्यारोबडीले मात्र तीनवटा उडान भइरहेको छ,’ ती कर्मचारीले भने। बुधवारदेखि हङकङ, मलेसिया, थाइल्याण्ड, दुवई लगायत गन्तब्यमा डेढ घण्टा डिले भएको थियो भने नयाँदिल्ली,बेग्लौंर, मुम्बई लगायत गन्तब्यको उडान १० घण्टासम्म ढिला भएको थियो। तर निगमका प्रवक्ता गणेशबहादुर चन्द भने सामान्य मर्मतका कारण उडान प्रभावित भएको बताए।‘निगमको बारेमा वाहिर अनावश्यक हल्ला गर्ने काम भइरहेको छ। जहाजमा सामान्य प्रावधिक समस्या आउँदा केही ढिला हुनु सामान्य हो।तर जहाजनै ग्राउण्डेड भएको होइन’ चन्दले भने,’सामान्य ढिला भएको हो।अरु ठूलो समस्या केही पनि छैन।’ स्रोतका अनुसार हाल निगमका चारैवटा ठूला जहाज एमइएल(मिनीमम इक्विपमेन्ट लिमिटेड) अन्तर्गत उडान भइरहेको छ।

स्रोतका अनुसार एमइएल ए,बी,सी र डी लगायत चार प्रकारमा क्याटोगोराइज गरिएको हुन्छ। ‘ए’ अन्तर्गतको समस्या तुरुन्तै जहाज ग्राउण्डेड गराएर एकै दिनमा मर्मत गर्न सकिन्छ। ‘बी’ अन्तर्गतको समस्या तीन दिनभित्र जहाज मर्मत गरिसक्नुपर्ने हुन्छ। यसैगरी ‘सी’ अन्तर्गतको समस्या १० दिनभित्र जहाज मर्मत गरी उडान गर्नुपर्ने हुन्छ। ‘डी’ अन्तर्गतको समस्या एक सय २० दिन भित्र मर्मत गरिसक्नुपर्ने हुन्छ। अहिले समस्या आएको जहाज ‘सी’ क्याटगोरीको एमइएलमा परेको छ। निगमले प्राय: आवश्यक उपकरण ल्याउनका लागि अन्तिम दिन कुर्ने गरेको छ। नियममा जहाज ग्राउण्डेड भएपछि आवश्यक उपकरण जति पैसा परेपनि मगाउन मिल्ने प्रावधान छ। १० दिनदेखि एउटा न्यारोबडी जहाज एमइएलमा उडान भइरहेको छ। हवाई विभागसँग अनुमति लिएर समय थप गर्न सकिन्छ। तर धेरै समय एमइएलमा जहाज राखेमा दुर्घटनाको जोखिम हुनसक्छ।' स्रोतले भन्यो। स्रोतका अनुसार दुईवटा वाइडबडी जहाजको टायर फेर्नुपर्ने अवस्था छ।तर निगमसँग स्टकनै  छैन।निगमको व्यवस्थापनै फितलो भएको कारण अन्तर्राष्ट्रिय उडान नै प्रभावित भएको स्रोत बताउँछ।- बसन्तराज/उप्रेतीबिजमाण्डू