साउन ३२,
काठमाण्डौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज निधन भएको छ। २००४ सालमा काठमाडौं असनमा जन्मिएकी अधिकारीको शनिबार बिहान करिब ८ बजे निजी निवास डल्लुमा निधन भएको हो। उनी पछिल्लो चार वर्षदेखि अस्वस्थ थिइन्।
६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा सुरु गरेकी अधिकारीले २०२६ सालमा नेपाल राष्ट्रिय नाचघरमा जागिर गर्नथालेपछि औपचारिक अभिनय प्रारम्भ गरेकी थिइन्। नेपाली चलचित्र ‘मनको बाँध’ बाट ठूलो पर्दामा आएकी अधिकारीले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मङ्गलसूत्र’, ‘आमा’, ‘आमाको माया’ लगायत चार दर्जन बढी चलचित्रमा अभिनय गरेकी थिइन्। उनले अभिनय गरेका थुप्रै चलचित्र आज पनि चर्चामा रहने गर्दछन्।
अधिकारीले गुरु बालकृष्ण समको निर्देशनमा बनेका ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत अन्य धेरै नाटक, गीतमा पनि अभिनय गरेकी थिइन्। अधिकारीका एक छोरा र एक छोरी छन्। आजै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया