ताजा अपडेट »

हुवासिन सिमेन्ट उद्योग नयाँ जग्गा सम्झौताको तयारीमा

शनिबार, ३२ साउन २०७६

साउन ३२,
धादिङ । १४ अर्ब ४० करोड चिनियाँ लगानीका साथ नेपालमा सिमेन्ट उद्योग संचालन गर्न लागेको हुवासिन सिमेन्ट उद्योगले नयाँ जग्गा सम्झौता गर्ने तयारी गरेको छ । यसअघि उद्योगले गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज भएपछि उद्योगले पुनः नयाँ प्रक्रिया अघि बढाएको हो ।

यसका लागि उद्योगले धादिङस्थित बेनिघाट रोराङ गाउँपालिकामा निवेदन दिएको छ । उद्योगले बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिस्ति १८१ रोपनी ३ आना ४ पैसा ६ दाम जग्गा पहिलो चरणमा ३० वर्षका लागि भाडामा लिनका लागि निवेदन दिएको बुझिएको छ । उद्योगको निवेदनका आधारमा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जमिनको भाडादर समेत तोकेर सिफारिस गरेको छ ।

गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीका अनुसार प्रतिरोपनी ४ लाख ८ हजार २८ रुपैयाँ ५ पैसा वार्षिक भाडा पाउने गरी जग्गा भाडामा दिन केन्द्र सरकारले निर्णय गर्ने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ । बार्षिक ५ प्रतिशत भाडा बढाउन सकिने गरी सिफारिस गरिएको उनले बताए । यो सिफारिस मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुग्ने छ ।