सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा २२ हजार सयपत्री फूलको बेर्ना वितरण गरिएको छ । कोभिड-१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत सैनामैना नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपि) को साझेदारी एवम् सेतोगुँरास बाल विकास सेवा रुपन्देहीको सहजीकरणमा नगरका ४४ जना कृषकलाई उक्त फूलको बेर्ना वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कृषकहरुलाई बेर्ना वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले पालिकाले कृषि क्षेत्रमा प्रथामिकता दिएको बताए । उनले नगरमा कृषक एवम् उद्यमी बन्न चाहने व्यक्तिलाई विभिन्न समयमा अनुदान प्रदान गरिएको बताउँदै फूलखेतीमा आत्मनिर्भर बन्न सोही अनुसार कृषकहरुलाई फूलका बेर्ना वितरण गरिएको उल्लेख गरे । गतवर्ष फूलखेतीबाट महिला समूहहरुले मनग्य आम्दानी गरेको उल्लेख गर्दै यसवर्ष पनि बेर्नाको संरक्षण गर्दै फूल तयारी गरेर बिक्री गरि मनग्य आम्दानी गर्नुपर्नेमा जोड दिए । बेर्नाको सदुपयोग गर्न सकेमात्र बेर्ना वितरण कार्यक्रमको सार्थकता रहेको कार्कीको भनाई छ ।
मंगलबार नगरका ११ वटै वडाका गरि कूल ४४ जना कृषकलाई ५/५ सयका दरले कलकत्ता लोकल जातका सयपत्री फूलका बेर्ना वितरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यकारी निर्देशक सुमित्रा शर्माले जानकारी दिइन् । उनले नगरमा गतवर्ष गरिएको फूलखेतीबाट राम्रो आयआर्जन भएकोले यस वर्ष पनि उचित प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्-‘सैनामैनालाई फूलखेतीबाट आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,सोही अनुसार बेर्नाको सदुपयोग गर्नुहोला ।’, सैनामैनामै उत्पादन भएको बेर्नालाई सैनामैनामै खपत हुने किसिमले तयारी गर्नुस् । -शर्माले आग्रह गरिन् ।’
सेतो गुराँस बाल विकास सेवाको समन्वयमा बहु तह कृषि तथा वृक्षारोपण कृषक समूह सैनामैना ७ देउवापारबाट प्रति बेर्ना ३ रुपैँयामा फूलका बेर्ना खरिद गरिएको हो । यस अघि नै पालिकाले सेतो गुराँसको समन्वयमा नगरमा १० वटा समूहलाई फूलका बेर्ना वितरण गरिसकेको छ ।
प्रतिक्रिया