साउन ३१,
काठमाण्डौं । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा कश्मीरका बारेमा आज छलफल हुँदैछ। भारतले जम्मू कश्मीरलाई राज्यको दर्जाबाट हटाउँदै केन्द्र शासित दुई प्रदेश (जम्मू कश्मीर)मा विभाजित गरेपछि राष्ट्र संघमा ५४ वर्षपछि कश्मीर मुद्दामा छलफल हुने भएको हो।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतबाट पाकिस्तान छुट्टिएको थियो। त्यसयता दुई देशको विवादित विषय 'जम्मू कश्मीर' को बारेमा चर्चा बिरलै हुने गरेको छ। पछिल्लोपटक सन् १९६५ मा संयुक्त राष्ट्र संघमा कश्मीरबारे छलफल भएको थियो। शुक्रवारका लागि तय भएको बैठक बन्द ढोकाभित्र निश्चित व्यक्तिहरु बीच हुने सम्भावना रहेको बताइएको छ। पाकिस्तानले राष्ट्र संघमा कश्मीर मुद्दा ब्युँताउने बताइहरँदा चीनले दुई दिनअघि सुरक्षा परिषदमा यस विषयमा चर्चा गर्न आग्रह गरेको हो।
दुई हप्ताअघि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मू कश्मीरको विशेष दर्जा समाप्त पार्दै राज्य विभाजन गर्दै केन्द्र शासित प्रदेश बनाएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। भारतको सो कदमको विरोध गर्दै पाकिस्तानले भारतसँगको कूटनीतिक र व्यापारिक सम्बन्ध सीमित गर्ने घोषणा गरेको थियो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदी गलत बाटोमा हिँड्दै हिलटर बन्ने खोजेको आरोपसमेत लगाएका थिए। कश्मीरलाई अधिकारविहीन बनाएको भन्दै भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानले भने कालो दिवसका रुपमा मनाएको थियो।
प्रतिक्रिया