ताजा अपडेट »

कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन

मंगलबार, ०१ भदौ २०७८

बलेवा । कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ । दरबन्दीमा रहेका चिकित्सक अध्ययनका लागि हिँडेपछि बागलुङको जैमिनी नगरपालिका कोभिड अस्पतालसमेत सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रमा समस्या भएको हो ।एक मात्रै चिकित्सकको दरबन्दी रहेको स्वास्थ्य केन्द्र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुको भरमा सञ्चालन हुँदै आएको थियो । सरकारले गर्ने चिकित्सक परिचालनमा सूचीकृत भएर आउने चिकित्सकको समेत अवधि सकिएपछि सङ्कटको समयमा स्वास्थ्य केन्द्र समस्यामा परेको हो ।

यहाँ दरबन्दीमा रहेकी चिकित्सक सुस्मा चालिसे एक वर्षअघि देखि अध्ययन बिदामा छिन् । “उनी तलबी अध्ययन बिदामा छिन्, अर्को कोही राख्न मिल्ने कुरा भएन,” जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द आचार्यले भन्नुभयो, “मौजुदा जनशक्तिका आधारमा स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।” वैकल्पिक अस्पताल नभएको र नजिकमा अन्य स्वास्थ्य संस्थासमेत नभएका गम्भीर प्रकृतिका बिरामीहरु सदरमुकाम धाउनुपर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रको नेतृत्व अहेवले गरेका छन् । यसअघि सरकारको चिकित्सक परिचालन कार्यक्रमअन्तर्गत करारमा आएका चिकित्सक राजु भट्टराई क्षेत्रीको गत वैशाख १४ गते करार अवधि सकिएको थियो । उनी यहाँबाट बिदा भएसँगै अन्य चिकित्सक पठाइएको छैन । कोरोना सङ्क्रमणको अवस्था र तत्कालको समस्या समाधानका लागि उनलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो । “छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई दुई वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ,” आचार्यले भने, “कोही एक वर्षमा नै हिँड्छन्, कसैले दुई वर्ष अवधि पूरा गर्ने गरेका छन् ।”

यो स्वास्थ्य केन्द्रमा दरबन्दीमा आउने मेडिकल अधिकृत चिकित्सक अधिकांशले तलबी अध्ययन बिदा लिने गरेका कारण उपचारमा समस्या हुने गरेको छ । करारमा सरकारले चिकित्सक पठाउन थालेपछि केही राहत भएको स्वास्थ्य केन्द्रमा पछिल्लो समय समस्या बल्झिएको हो । चिकित्सक तथा दक्ष जनशक्ति नभएका कारण यहाँ ल्याइएका उपकरणहरुसमेत थन्किएका छन् । एक्स–रे मेशिन पाँच वर्षदेखि भण्डारण गृहमा थन्किएको छ । भिडियो एक्स–रेका लागि ल्याइएको मेशिनसमेत जनशक्तिको अभावकै कारण थन्क्याउनु परेको स्वास्थ्य केन्द्रले जनाएको छ । तीन अनमी र एकजना स्टार्फ नर्सले गर्भवतीको जाँचमा मात्रै भिडियो एक्स–रेको प्रयोग गर्ने गरेका छन् । -रासस