ताजा अपडेट »

सवारी दुर्घटनामा हरेक दिन पाँच जनाको मृत्यु

शुक्रबार, ३१ साउन २०७६

साउन ३१,
काठमाण्डौं । नेपालमा सवारी दुर्घटनामा हरेक दिन कम्तीमा पनि पाँच जनाको ज्यान जाने गरेको छ । सवारी दुर्घटनामा प्रत्येक दिन कम्तीमा पनि दुई दर्जन व्यक्ति घाइते भएर अंगभंग भइरहेका छन् । मुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने गरेको तथ्यांकले देखाएको हो । सवारी दुर्घटनाका घटना पछिल्लो समय झनै बढ्दै गएको समेत तथ्यांकले देखाएको छ ।


२०७४ सालमा सवारी दुर्घटनामा १ हजार ८३६ जनाले ज्यान गुमाएका थिए । २०७५ सालमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेर २ हजार १६६ पुगेको छ । यस्तै, २०७६ को २६ साउनसम्म नै ६८३ ले ज्यान गुमाएका छन् । २०७४ सालमा सवारी दुर्घटनामा ६ हजार ५४९ घाइते भएका थिए । २०७५ मा ७ हजार ८६७ जना घाइते भएका थिए भने यस वर्षको २६ साउनसम्म २ हजार ७३१ जना सवारी दुर्घटनामा घाइते भएका छन् ।सवारी विज्ञहरूले चालकको लापर्बाही, पुराना र थोत्रा सवारीसाधनको प्रयोग र सडकको दयनीय अवस्थाका कारण सवारी दुर्घटनाका घटना वृद्धि भएको जनाएका छन् ।-राजधानी दैनिक