एजेन्सी । सशस्त्र विद्रोही तालिबानीहरुले अफगानिस्तान कब्जामा लिइसकेका छन् । उनीहरुले आइतबार साँझ राजधानी काबुल प्रवेश गरेर राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोडेका थिए ।
तालिबानीले देश कब्जा गरेपछि विभिन्न देशले फरकफरक टिप्पणी गरिरहेका छन् । यसैबीच अफगानिस्तानको छिमेकी देश पाकिस्तानले पनि तालिबान पुनः सत्तामा पुगेका बेला आफ्नो प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री इमरान खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले ‘दासत्वको बन्धन तोडेको’ भनेर टिप्पणी गरेका छन्। उनले तालिबानको पक्षमा बोलेको त्यहाँको राजनीतिज्ञहरु बताउँछन् ।
स्मरण रहोस्, सन् १९९६ मा अफगान तालिबान सरकारलाई मान्यता दिने तीन राष्ट्रमा एक पाकिस्तान पनि थियो । यता, धार्मिक आस्थामा आधारित पाकिस्तानका राजनीतिक दलहरू जमात-ए-इस्लामी र जेयूआइ-एफले अफगान तालिबानलाई उनीहरूको पछिल्लो 'सफलता'का लागि बधाई दिएका छन् र अफगानिस्तानमा उनीहरूको आन्दोलनका लागि पूर्ण समर्थन र सहयोग प्रदान गर्ने बताएका छन्।अफगानिस्तानमा तालिबानको पुनः नियन्त्रण कायम भएको खुसीयाली मनाउन यी धार्मिक समूहका केही सदस्यले मिठाइ समेत बाँडेका थिए।
प्रतिक्रिया