ताजा अपडेट »

दैनिक ६ करोड ३० लाख १३ हजारको बिजुली आयात

शुक्रबार, ३१ साउन २०७६

साउन ३१,
काठमाण्डौं । नेपालले दैनिक ८ लाख ७६ हजार रुपैयाँको बिजुली भारतलाई बिक्री गर्न थालेको छ। गत आर्थिक वर्षमा नेपालले दैनिक उक्त रकमको बिजुली भारतलाई बेचेको हो। गत आवमा भारतलाई ३२ करोड रुपैयाँको बिजुली बिक्री गरिएको थियो।

भारतबाट भने नेपालले दैनिक ६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको बिजुली किन्दै आएको छ। गत आर्थिक वर्ष २३ अर्बको बिजुली भारतबाट नेपालले किनेको छ। भारतमा निर्यातभन्दा कैयौ गुणा बढी बिजुली आयात गरिन्छ। आयात निर्यातबीचको खाडल बढी छ। यस्तो खाडल क्रमशः कम हुँदै जाने अनुमान प्राधिकरणले गरेको छ। अझै लामो समयसम्म हिउँदमा बिजुली खरिद गर्नु परे पनि बर्खामा भने अर्को वर्षदेखि खरिद गर्नु नपर्ने प्राधिकरणका अधिकारीको भनाइ छ। बर्खामा आगामी वर्षदेखि मुलुक बिजुलीमा आत्मनिर्भर हुने नेपाल प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। आगामी बर्खासम्ममा राष्ट्रिय प्रसारण लाइनमा १ हजार मेगावाटभन्दा बढी बिजुली थप हुने भएकाले मुलुक आत्मनिर्भरको बाटोमा पुगेको हो। अहिले बर्खाको समयमा बिजुली नपुगेर करिब चार सय मेगावाट भारतबाट आयात भइरहेको छ। प्रवक्ता अधिकारीका अनुसार अर्को बर्खायामसम्म थप एक हजारभन्दा बढी मेगाबाट बिजुली थपिने छ। यसले बर्खामा मुलुक आत्मनिर्भर बन्नेछ।

अधिकारीले अर्को बर्खासम्म प्राधिकरण मातहतको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीलगायतका अन्य आयोजना र निजी क्षेत्रका निर्माणाधीन आयोजनाबाट बिजुली थपिने जानकारी दिए। अर्को बर्खासम्ममा भारतबाट बिजुली नल्याउँदा पनि स्वदेशकै बिजुलीले पुग्छ। हिउँदमा भने अझै ८-९ वर्ष बिजुली नपुग्ने देखिन्छ। ‘हिउँदमा सन् २०२६/०२७ सम्ममा मात्र आत्मनिर्भर हुने अनुमान गरिएको छ,’ अधिकारीले भने, ‘त्यतिबेलासम्म भारतबाटै बिजुली ल्याएर उज्यालो बनाउनुपर्ने अवस्था छ।’ नेपाल विद्युत् प्राधिकरणको असारमसान्तको सम्मको तथ्यांक अनुसार हाल विभिन्न आयोजनाबाट करिब १ हजार ३ सय २५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । गत आर्थिक वर्षमा सात अर्ब ५५ करोड युनिट (किलोवाट आवर) मध्ये प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ५५ करोड युनिट (३४ प्रतिशत) बिजुली उत्पादन भएको छ। निजी उत्पादकबाट दुई अर्ब १९ करोड युनिट (२९ प्रतिशत) उत्पादन भएको थियो। भारतबाट करिब तीन अर्ब ४७ करोड युनिट (३७ प्रतिशत) बिजुली आयात भएको छ।

अर्को बर्खासम्म थपिने बिजुलीले सुक्खायामको बिजुली अभावलाई केही राहत पुर्‍याए पनि हिउँदमा भने भारतकै भर पर्नुपर्ने हुन्छ । ‘बिजुली थपिने आयोजना नदीमा आधारित (रन अफ द रिभर) भएकाले खोलामा पानीको बहाव कम हुँदै जाँदा बिजुली उत्पादन कम हुन्छ,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसले गर्दा पनि हिउँदमा बिजुली अभाव हुन्छ र भारतबाट ल्याउनुपर्ने हुन्छ।’ आगामी वर्षहरूमा बर्खामा बढी हुने बिजुली भारत निर्यात गर्ने र हिउँदमा कमी हुने हुँदा भारतबाट आयात गर्ने गरी इनर्जी बैंकको अवधारणा ल्याइएको प्रवक्ता अधिकारीले जानकारी दिए । ‘इनर्जी बैंकको अवधारणा लागू गर्न सकिए यतामा कम हुँदा भारतबाट ल्याउने र बर्खामा यता बढी भएको बिजुली भारत लैजान सकिन्थ्यो,’ उनले भने, ‘बिजुली अ‍ैंचोपैंचो गर्न खोजिएको हो ।’ इनर्जी बैंकमा भारत पनि सकारात्मक भएको अधिकारीको भनाइ छ। निर्माणाधीन आयोजना जलासययुक्त नभएकाले पनि हिउँदमा बिजुलीमा आत्मनिर्भर हुन अझै लामो समय लाग्ने भएको हो। नदी प्रवाहमा आधारित आयोजना पनि प्राधिकरणमातहत बन्नेभन्दा बढी निजी क्षेत्रले बनाउँदै आएका छन्।

सरकारले २०४९ देखि निजी क्षेत्रलाई जलविद्युत् आयोजना निर्माणका लागि अनुमति दिन थालेको हो। सरकारले विद्युत् ऐन, २०४९ तथा जलविद्युतसम्बन्धी अन्य नीति र आवधिक योजना समेतबाट जलविद्युत् उत्पादन तथा वितरणमा निजी क्षेत्र र समुदायलाई संलग्न गराउँदै आएको छ। निजी क्षेत्रका प्रवद्र्धकले साना तथा मझौला खालका आयोजना निर्माण गर्दै आएका छन्। साना तथा मझौला खालका जलविद्युत् आयोजना निर्माण गर्न तीनदेखि पाँच वर्ष लाग्ने गरेको छ। खासगरी, २०६२/०६३ को जनआन्दोलनपछि आयोजना निर्माणले गति लिएको छ । त्यसैको परिणामस्वरुप अहिले थुप्रै जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका हुन्। १९६८ मा बेलायतको सहयोगमा नेपालमा पहिलोपटक पाँच सय किलोवाटकोे फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो । त्यसपछि अन्य साना तथा मझौला जलविद्युत् आयोजना निर्माण हुँदै आएका छन् ।- विष्णु बेल्वासे /नेपाल न्युज