तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेको दिन नै यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् । यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
वर्तमान सन्दर्भमा नेपाली संस्कृतिमाथि प्रहार गर्ने काम भइरहेको छ । हाम्रा मौलिक संस्कृति हाम्रा पहिचान हुन् र संस्कृतिले हाम्रो इतिहासलाई जीवन्त राख्ने काम गर्दछ । न छेउ न टुप्पा भएका, अर्थहीन, सारहीन, अश्लील भाव बोकेका गीत गाएर सस्तो लोकप्रियता कमाउन चाहने गायकगायिकाको खहरेको बाढी आएका वेला नेपाली तीज पर्वको मौलिकतालाई लिएर रचना गरिएको मै सानी हुँदा बालापन–२ तीज गीतले हाम्रो संस्कृतिमा देखिएको विकृतिप्रति असन्तुष्टि मात्र प्रस्तुत गरेको छैन, नेपाली चेलीहरुको महान् पर्व तीजको खास मौलिकतालाई समेत झल्काएको छ । लक्ष्मी न्यौपाने रेग्मीको रचना र स्वर भएको यो गीत उनको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।
लक्ष्मी न्यौपानेको जन्म पाल्पा जिल्लाको दर्पुक भन्ने ठाउँमा भएको हो भने उनको स्थायी घर बुटवल उपमहानगरपालिका वडा नं. १६ हो । हाल उनी बुद्धनगर काठमाडौँमा बसोबास गर्दै आएकी छन् । २०५१ सालदेखि साङ्गीतिक यात्रा सुरु गरेकी न्यौपानेले लोकगीत, लोकदोहोरी, तीज गीत, दशैँ तिहार गीत, देउडा गीत, थारु भाषाका गीत लगायतका विभिन्न गीतहरु गाएकी छन् । उनले ६००० भन्दा बढी गीतमा स्वर दिएकी छन् भने उनका २४०० भन्दा बढी एल्बम सार्वजनिक भएका छन् । पाँच दर्जनभन्दा बढी तीज गीतमा स्वर दिएकी न्यौपानेका आफ्नै प्रस्तुतिका १५ तीजका गीति एल्बम रहेका छन् । उनी राष्ट्रिय प्रादेशिक प्रतिभा पुरस्कार – २०७६ (प्रदेश ५), अधिराज्यब्यापी लोकगीत सम्मेलन (२०५४, सर्वोत्कृष्ट), नुरगंगा प्रतिभा पुरस्कार (२०६४), दशककी गायिका (२०७३) राष्ट्रिय नारी सम्मान (२०६८ र २०६९), राष्ट्रिय सेवा सम्मान (२०६६) गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स (२०७४), इमेजअवार्ड्स (२०६५) लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छन् । यहाँ लक्ष्मी न्यौपानेका मै सानी हुँदा बालापन २ तीज गीतको विश्लेषण गरिएको छ ।
प्रस्तुत गीतमा बालमनोविज्ञान र नारी मनोविज्ञानको अभिव्यक्ति पाइन्छ । बालबालिका साना हुँदा बाबुआमा, दाजुदिदीलगायतका अभिभावकले उनीहरुको मनोबल उच्च राख्न सबै कुरा जानेको, ज्ञानी भएको भनी बालबालिकालाई प्रशंसा गर्ने नेपाली समाजको यथार्थ प्रकट भएको छ । यसले बालबालिकाका मस्तिष्कमा नकारात्मक कुराले असर गर्ने भएकाले सकारात्मक कुरा मात्र भन्नुपर्ने सन्देश दिएको छ । चेली विवाहित भएर कर्म घरमा गएपछि आफ्नो बाल्यकाल बितेको माइतीको आँगनको सम्झना आइरहने र माइतीले आफूलाई सिकाएका संस्कारबाट आफू संस्कारित भएको र त्यसैबाट आफ्नो व्यक्तित्व निर्माण भएको कुरा पनि गीतमा अभिव्यक्त भएको छ ।
गीतमा भनिएको छ :
मै सानी हुँदा भन्नुहुन्थ्यो बाबाले मेरी छोरी भाग्यमानी सारै ज्ञानी छ
जान्नलाई त मैले केही जानेकी थिइनँ नि, भन्नुहुन्थ्यो सिकाउँदै सप्पै जानी छ ।
प्रस्तुत गीतमा आमाले छोरी निकै टाठीबाठी भएकाले असल हुने, दिदीले बहिनी असल भएकाले घरलाई स्वर्गतुल्य बनाउने, दाजुले बहिनी हिम्मतवाली, निडर भएकाले सबैलाई खुसी दिन सक्ने आशावादी विचार अभिव्यक्त भएको छ । यस गीतमा चेलीले आफू बाल्यकालमा हुँदा माइती घरका बाबुआमा र दाजुदिदीबाट सम्पूर्ण संस्कार सिकेको कुरा व्यक्त गरेकी छन् । सानै छँदा आफू जेजस्तो भए पनि बिहेपछि कर्म घर राम्रोसँग समालेर बसेको र आफू सफल नारी भएको भाव गीतमा व्यक्त भएको छ । नारीका लागि जन्म घर नै पहिलो पाठशाला भएको र कर्म घरमा गए पनि माइती घरको सम्झना आइरहने विचार प्रकट भएको छ :
मै सानी हुँदा जस्ती जे भए नि, आएपछि कर्म घर बसेँ समाली
जन्मिएको घर नै रै छ पहिलो पाठशाला, माइतीघरको सम्झना आउँछ झलभली ।
नेपाली चेलीलाई बाँचुन्जेल आफ्नो बाल्यकाल बितेको माइतीको घरआँगन प्यारो लाग्ने तथा नारीले जन्मघरमा पाएको संस्कारले नै जीवन सुखद हुने कुरालाई गीतमा अभिव्यक्त भएको छ । यस गीतमार्फत नारीका लागि जन्मघर संस्कार, शिक्षा, नैतिकता, जिम्मेवारी, कर्तव्य आदि सिकाउने र जीवनलाई सफल बनाउने आधार भएको कुरा प्रकट गरिएको छ:
लाग्छ प्यारो चेलीलाई बाँचुन्जेल, बालाजोबन बितेको ठाउँ बरिलै
जनमघरमा पाएको संस्कार, हुनी रै छ चेलीलाई ठुलो बरिलै ।
प्रस्तुत गीतमा भावअनुसारका क्रियाकलाप पाइनाले पाठकका लागि गीत र अभिनय रोचक बन्न पुगेको छ । राजकुमार बगरको शब्द र लक्ष्मी न्यौपानेको लयमा आएको यस गीतले नेपालीहरुलाई चाडपर्वमा विकृति निम्त्याउने होइन संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ । नारीमनोविज्ञान र संस्कारको अभिव्यक्ति पाइने यस गीतले नेपाली समाजलाई संस्कारवान् बन्न शिक्षा दिएको छ भने घर नै पहिलो पाठशाला भएकाले अभिभावक सन्तानको भविष्यप्रति जिम्मेवार बन्नुपर्ने सन्देश पनि दिएको छ ।
लक्ष्मी न्यौपानेद्वारा रचिएको र गाइएको प्रस्तुत तीज गीत नेपाली परिवेश, नेपाली संस्कृति, नेपाली चेलीका मनोविज्ञानलाई समेटेर पूर्णतः नेपाली लोकभाकामा गाइएको गीत हो । उत्ताउला, भड्किला गीतले नेपाली लोक संस्कृतिको जगेर्ना हुन सक्दैन भन्ने गायिका न्यौपानेले नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्न सदैव नेपाली मन, मुटुमा भिजेका भाव र जनजिब्रोले पचाएका शब्दको प्रयोग गरी गीत लेख्दै र गाउँदै आएकी छन् । हरितालिका तीज २०७८ का सन्दर्भमा सार्वजनिक भएको मै सानी हुँदा बालापन–२ तीज गीतले सफलता प्राप्त गरोस् हार्दिक शुभेच्छासहित शुभकामना ।
प्रतिक्रिया