ताजा अपडेट »

अनौठो चोरी काण्डमा संलग्न युवा २ वर्षपछि पुनः पक्राउ

आइतबार, ३१ साउन २०७८
1 Shares

गुल्मी । साढे दुई वर्ष अघि गुल्मीमा अनौठो प्रकारको चोरी काण्डमा संलग्न एक जना युवक शनिबार विहान फेरी चोरी काण्ड मै पक्राउ परेका छन् । साउन २७ गते राति घरमा कोही नभएको मौका छोपी धुर्कोट गाउँपालिका–४ , जैसीथोकको बरबोटस्थित लक्ष्मीप्रसाद खनालको घरबाट कम्यूटर ,ल्यापटप , आइरन लगाएतको सामग्री चोरी भएको थियो ।

अर्को दिनदेखि धुर्कोट प्रहरी चौकी प्रमुख असई लोकमान ताम्राकार लगाएतको टोली अनुसन्धानमा जुटेको थियो । सोही अनुरुप शनिबार बिहान ९ बजेको समयमा त्यस चोरी घटनामा संलग्न रेसुङ्गा नगरपालिका–३ भाडगाउँका २२ बर्षीय आशिष बिक र धुर्कोट गाउँपालिका–४ जैसीथोकका २२ बर्षीय शेरबहादुर बिकलाई उक्त सामग्री सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुर्षोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

यस्तो छ ‘चोर ज्वाँई’को चर्तिकला
आशिष बिक धुर्कोट गाउँपालिका–४ जैसीथोककी युवती विवाह गरेर उतै बस्न थाले पछि ‘चोर ज्वाँई’का रुपमा परिचित हुँदै आएका छन् । उनले धुर्कोटका धेरै ठाउँमा धेरै पटक चोरी गर्दै ,प्रक्राउ पर्दै र सजाय भोग्दै निस्किँदै आएका छन् । साढे दुई वर्ष अघि उनी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्ग टोलका मेघराज अर्यालको घरमा अनौठो लाग्ने चोरी काण्डमा संलग्न भए। आफूसहित ७ जनाको टोली लिएर अर्याल परिवार बुटवल गएको बेला चोरी गर्न पसे ।

आलिसान महल भित्र पसेपछि शान्दार तरिकाले किचन–बारमा सजाइएका ब्राण्डेड मदिराहरु छानी–छानी पिउन थाले । अरु साथीहरु विभिन्न सामग्री चोरी गरेर त्यहाँबाट भागी सकेको उनले मतलवै गरेनन् । उनले शानदार किचनको बसाई र मदिराको मातमा चोरी गर्न पसेको हुँ बेलैमा भाग्नु पर्छ भन्ने कुरा बिर्सिए । मदिराले लट्ठ नपर्नु अघि , केहि ब्राण्डेड खालका मदिरा र अन्य सामग्री भने बाहिर लगेर लुकाई सकेका थिए।

त्यस पछि सोही घरमा फर्केर पिउन थालेका उनी घरको मालिक जस्तै बनेर विलासी बन्न थाले । तीनतले पक्की घरका विभिन्न कोठाका विस्ताराहरुमा सयर गर्दै विहानपख छतमा उक्लेर चिसो हावा लिँदै ह्विस्कीको चुस्की लिँदै आनन्द लिइरहे । केहि बेरपछि गाउँवासीले लौरा र धाराहरु लिएर घर वरी–परी घेरा हाल्दा मात्रै बल्ल उनलाई थाह भयो कि आफू चोरी गर्न पसेको तर, बेलैमा भाग्न भुलेको कुरा । त्यसपछि उनी तल झरेर भित्रबाट चुक्कुल लगाएर त्यस अघि ठूलाबडाको शैलीमा बसेर मदिरा पिएको पलङ्ग–शोफा मुनी लुकेर बसे । ‘बाहिर निस्की…,बाहिर निस्की…,’भन्दै तलबाट मानिसहरु कराउँदा उनी निस्केनन् ।

जब प्रहरी आयो र ‘ढोका खोल भन्यो’ तब भने उनी आफू सुरक्षित हुने ठानेर ढोका खोलेर प्रहरी सामु आत्मसमर्पण गरे । उनी पक्राउपछि जिल्ला कारागार गएर सजाय भुक्तानी गरि निस्केका थिए । त्यही अनौठो प्रकारको चोर काण्डमा संलग्न ब्यक्ति पछिल्लो यस काण्डमा पनि पक्राउ गरिएको डिएसपी पाण्डेले बताए ।