भैरहवा । गौतम बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुका मेयरहरु स्पेन भ्रमण गरि फर्केका छन् । स्पेनबाट फर्केका मेयरहरु लुम्बिनीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो अनुभव र सिकाई साटेका छन् ।
राष्ट्रिय सभा सदस्य गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन प्रसाद चौधरी, देवदह नगरपालिकाका मेयर हिरा बहादुर केसी, नवलपरासी रामग्रामका मेयर नरेन्द्र प्रसाद गुप्ता र कपिलबस्तु नगरपालिकाका मेयर किरण बहादुर सिंह सहितको १० जनाको टोली चैत्र २३ गते ५ दिने भ्रमणको लागी स्पेन पुगेको थियो ।
बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्य सहित स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलनमा भाग लिन पुगेका मेयरहरुको टोलीले भ्रमण उपलब्धि मुलक रहेको बताए । शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजना भएको थियो ।
भ्रमणले पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र बिशेष गरि फोहोरमैला ब्यवस्थापनमा स्पेनले गरेका कामहरु बारे अवलोकन गर्नेमा केन्द्रित रहेको थियो । भ्रमण टोलीमा सहभागी देवदह नगरपालिकाका मेयर हिरा बहादुर केसीले नेपालमा फोहोर ब्यवस्थापनमा देखिएका विकाराल समस्यासंग जेडिएका प्रविधि, ज्ञान र उपकरणहरुको आदान प्रदानमा संस्थागत सम्झौता भएकोले यसले भविष्यमा राम्रो प्रतिफल दिने बताए । यो भ्रमणले लुम्बिनी मात्र नभई यस संग सम्बन्धित नगरपालिकाहरुमा रहेको गौतम बुद्ध संग सम्बन्धित स्थलहरुको प्रचार प्रसारमा टेवा पुग्ने उनको दावी छ ।
यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनी र काथेरेस बिच भगिनी सम्बन्ध कायम भएको बताए । उनले निकट भविष्यमै काथेरसको सहयोगमा लुम्बिनमिा उच्च सुविधा सहितको अस्पताल निर्माण सुरु हुने बताए ।
मेयर चौधरीले लुम्बिनीको बसाई लम्ब्याउन लुम्बिनी र गौतम बुद्ध संग जोडिएका क्षेत्रहरुको एकिकृत विकासको लागी स्पेनले सहयोगको वचन दिएको बताए । “सबै नगरपालिकामा बुद्ध संग सम्बन्धित क्षेत्रको विकास भए मात्र पर्यटकको बसाई लम्ब्याउन सकिन्छ । यसमा सबैको प्रयास अपरिहार्य रहेको छ ।” उनले भने । उनले लुम्बिनीमा विकासको जग बसालेको र अब जुन सुकै नेतृत्व आए पनि यसको निरन्तरतामा सहज हुने बताए ।
लुम्बिनीको प्रचार प्रसार गर्नको लागी लुम्बिनी गार्डेन फाउण्डेशनले स्पेनको काथेरेस शहरमा १ सय ७ हेक्टरमा “मिनि लुम्बिनी” निर्माण गर्ने भएकोले यसले लुम्बिनीको प्रचार प्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले स्पेनको स्थानिय सरकारको समन्वयमा पार्क निर्माण भई रहेको बताए । पार्कले बुद्ध संग सम्बन्धित बिभिन्न सामाग्रीहरु राखिने बताए ।
शान्ती सम्मेलनका अलवा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्चस्तरीय भेटघाट गरेका थिए । सो भेटघाटहरु नेपाल स्पेनको कूटनीतिक सम्बन्ध मजबुत बनाउन तथा दुईपक्षीय साझेदारीका लागि निकै उपलब्धिमूलक भएको उनको भनाई छ । अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्दै स्पेनको एक्सत्रेमदुरा प्रान्तको सदनमा सम्बोधन गरेका थिए । त्यसैगरी सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा उनले नेपालमा शान्ति र लोकतन्त्रको विकास बारे आफ्नो अनुभव सहितको सम्बोधन गरेका थिए ।
लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भ्रमण दुई देश बिचको सम्बन्ध घनिष्ट बनाउन सहयोग गर्ने बताए । यस्तै बुद्ध संग सम्बन्धित बुद्ध भुमिहरुको विकास गर्ने र भविष्यमा त्यसको दुरगामी प्रभाव पार्ने किसिमले भ्रमण महत्वपूर्ण रहेको बताए । तिमिल्सिनाले बुद्ध संग सम्बन्धित क्षेत्रको विकासको लागी स्थानिय सरकारहरु प्रदेश र संघको मुख ताक्नु भन्दा पनि आफैले प्रयास थाल्नु पर्ने जोड दिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य पाठक, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र प्रसाद गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत शिव रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्दै पाण्डले गरेका थिए ।
प्रतिक्रिया