ताजा अपडेट »

शेयर बजारले गति लिएन, कारोबार २६ करोड

बुधबार, २९ साउन २०७६

साउन २९,
काठमाण्डौं । साताको सुरु देखिनै सामान्य देखिएको शेयर बजारले बुधबार पनि गति लिन सकेन। शेयर बजार मापक सूचक ५.१७ अंकले घटेर १२२५.९० अंकमा ओर्लिएको छ। कारोबार मापक सूचकसँगै कारोबार रकमा समेत बुधवार खुम्चिएको छ।कारोबारको सुरु देखिनै घटेको बजारले अन्तिम सम्मनै बढ्दो गति समात्न नसक्दा शेयर सूचक घटेर बन्द भएको हो।

लगानीकर्तालाई सरकारले चरम वेवास्ता गरेका कारण शेयर बजार दिन प्रतिदिन सुस्ताएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए।विगत एक महिनादेखि लागत नखुलेको शेयरको हकमा एउटा निश्चित मिति तय गरिदिन लगानीकर्ताले सरकारलाई दबाब दिँदै आएका छन्। लगानीकर्तालाई सरकारले पन्छाउन थालेपछि सामान्य लगानीकर्तामा चरम निराशा छाएको ढकालको भनाइ छ।

बुधवार १६९ कम्पनीको १० लाख ६९ हजार कित्ता शेयर २५ करोड ७२ लाख रुपैयाँमा कारोबार भयो।यस अघि कारोबार रकम औसतमा ४० करोड माथि उक्लने गरेको थियो। बुधवार सबैभन्दा बढी नेपाल बैकको दुई करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। कारोबार रकमको आधारमा रसुवागढी हाइड्रोपावर दोस्रो भएको छ।रसुवागढीको एक करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। कारोबारमा आएका  लघुबित्त बाहेक सबैका उपसूचक घटेका छन्। लघुबित्तमा ०.०१ प्रतिशतको बढोत्तरी देखिएको छ। ट्रेडिङ् समूहको उपसूचक ०.६७ प्रतिशत घटेको छ।