ताजा अपडेट »

हङकङमा एयरपोर्ट अवरुद्ध, दोस्रो दिन पनि विरोध प्रदर्शन जारी

बुधबार, २९ साउन २०७६

साउन २९,
काठमाण्डौं । हङकङ अन्तर्राष्ट्रिय एयरपोर्टमा बुधबार पनि सरकारविरुद्धको विरोध प्रदर्शन जारी छ। प्रदर्शनले एसियाकै मुख्य यातायात हब मानिने हङकङ अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ।

हजारौं प्रदर्शनकारी विमानस्थलको टर्मिनलभित्रै पस्न लागेपछि ठूलो संख्यामा आएका सुरक्षाकर्मीले तिनीहरुलाई रोकेका थिए। तीनजना प्रदर्शनकरी भीड छिचोल्दै भित्र पसेका थिए। उनीहरूले आफूहरू चीनबाट आएको प्रहरी अधिकारी भन्दै छलेर भित्र पसेका हङकङका सुरक्षा अधिकारीले जनाएका छन्। सरकारविरोधी प्रदर्शनका कारण प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति आएपछि मंगलबारदेखि नै हङकङबाट हुने अन्तर्राष्ट्रिय उडान रोकिएका अधिकारीले जनाएका छन्। गत शुक्रबारदेखि हङकङ एयरपोर्ट आसपासमा प्रदर्शनकारीले सरकारविरोधी नाराबाजी गर्दै आएका छन्। सरकार विरोधीले दस हप्तादेखि त्यहाँ सुरु गरेको राजनीतिक आन्दोलनकै निरन्तरताका रुपमा एयरपोर्ट प्रदर्शनलाई लिइएको छ, जुन तुरुन्त टुंगिने स्थिति देखिँदैन।

हङकङ सरकारले जुनमा ल्याएको प्रत्यर्पण विधेयकको विरोधमा प्रदर्शन सुरु भएको थियो। पछि सरकारले त्यो विधेयक फिर्ता लिएको थियो। अहिले विरोध प्रदर्शन लोकतन्त्र स्थापना र मौलिक अधिकार सुनिश्चिततातर्फ लक्षित छ। प्रदर्शनका कारण हङकङ नराम्रो अवस्थामा गइसकेको भन्दै स्थानीय नेता केरी लामले प्रदर्शनकारीलाई चेतावनी दिएका छन्। चिनियाँ समाचार संस्था सिन्हवाले प्रदर्शनकारीले हङकङका गल्लीगल्लीमा आतंकको वातावरण सिर्जना गरेको उल्लेख गरेको छ।-बिबिसी