ताजा अपडेट »

विभागको नेतृत्व टुंग्याउन प्रधानमन्त्री सक्रिय

मंगलबार, २८ साउन २०७६

साउन २८,
काठमाण्डौं । स्वास्थ्य उपचार गरी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सक्रियता बढाएका छन्। सोमबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटघाट गरेका प्रधानमन्त्री ओलीले मंगलबार बिहान आफूनिकट नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन्।

सिंगापुरको एक साताबढी उपचारपछि फर्किएका प्रधानमन्त्री ओलीले देश र पार्टीका बारेमा राजनीतिक परामर्श लिन सुरु गरेका हुन्। मंगलबार बोलाइएको पार्टी केन्द्रीय सचिवालयको बैठक उपचारको समय लम्बिँदा गृहकार्य गर्न नपाएको भन्दै स्थगित गरिएको छ। ‘विभागको जिम्मेवारी बाँडफाट सक्ने बारेमा प्रधानमन्त्रीले परामर्श सुरु गर्नु भएको हो’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘प्रचण्डसहित पुर्व एमालेका नेताहरूसँग राय लिने कार्य गरिरहनु भएको छ।’ सोहीअनुसार मंगलबार बिहान सुवासचन्द्र नेम्वाङसहित सचिवालयका नेतासँग उनले भेटघाट गरेका छन्।

पुर्व एमालेको भागमा परेको १८ र पुर्व माओवादीको भागमा परेको १४ वटा विभागको जिम्मेवारीको विषय पेचिलो बन्दै गएपछि सचिवालय बैठक पटक–पटक सर्दै आएको थियो। गत १३ गते बसेको बैठकमा सहमति हुन नसकेपछि साउन २८ गतेका लागि सचिवालय बैठक बोलाइएको थियो। तर अन्तिम समयमा बैठक स्थगित भएको जानकारी गराईएको थियो। मुख्यतः स्कुल विभागको नेतृत्वलाई लिएर ओली र दाहालबीच सहमति जुटन सकिरहेको छैन। सो विभाग पुर्व एमालेको भागमा परेपछि इश्वर पोखरेलको नाम सार्वजनिक भएलगत्तै पुर्व माओवादीका नारायणकाजी श्रेष्ठले पनि दाबी सुरु गरेपछि विवाद साम्य हुन सकिरहेको छैन।

पार्टीको आधिकारिक कार्यदिशा ‘समाजवाद उन्मुख जनताको जनवाद’ को बदलामा पुर्व एमालेको कार्यदिशा रहेको ‘जनताको बहुदलीय जनवाद’को वकालत गरेको भन्दै पुर्व माओवादीले पोखरेललाई स्वीकार गर्न आनाकानी गरिरहेको छ। यही आनाकानीमा विवाद बढ्दै गएपछि सो विभागमा झलनाथ खनाल, बेदुराम भुषाल, घनश्याम भुषाल, राम कार्की, देवेन्द्र पौडेललगायतले पनि दाबी सुरु गरेका छन्। यहीकारण अध्यक्षद्वय ओली र दाहाललाई विभागको नेतृत्व टुंग्याउन थप सकस परिरहेको छ ।