ताजा अपडेट »

‘ओलीको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज’ - माधव नेपाल

मंगलबार, २६ साउन २०७८
1 Shares

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव अगाडी बढाएसँगै नेता नेपालले असन्तुष्टि जनाएका हुन् । ‘ओलीको एकलौटी निर्णयले पार्टी एकतामा बाधा पुर्‍याएको छ । एकताको च्याप्टर क्लोज भएको छ।’ नेता नेपालले आफू पक्षिय नेताहरुसँग भनेका छन्, ‘अब समानान्तर गतिविधिलाई तीव्रता दिनुपर्छ ।’

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको थियो । उक्त मस्यौदाअनुसार अब एमालेको सांगठनिक स्वरुपमा व्यापक बदलाव आउने छ ।

निर्वाचन प्रणाली परिवर्तन गर्दै अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने भनि गरेको प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव गरेको हो । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने तथा बाँकी पदाधिकारीहरु केन्द्रीय कमिटीले छनोट गर्ने प्रस्ताव गरिएको छ । यसले अबको एमालेमा अध्यक्षलाई शक्तिशाली बनाउने छ ।

२७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले १० बुँदे सहमति जुटाए तर एकता प्रक्रियामा अलमल कायमै रहेपछि अध्यक्ष ओली विधान महाधिवेशन गर्ने तयारीमा जुटेका हुन् । ओली पक्षले भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशन बोलाएको छ । नयाँ विधानअनुसार एमालेमा अब एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहनेछन् । नवौँ महाविधेशनमा भने अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच रहेका थिए ।