ताजा अपडेट »

बाँसको तामा बिक्री हुन थालेपछि किसान उत्साहित

शनिबार, २३ साउन २०७८

गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । घाँस दाउरा र डोको बुन्न मात्रै खपत हुने बाँसको तामा नै बिक्न थालेपछि किसानहरु उत्साहित छन् । बारिका छेउ–छाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहनत गर्नु पर्दैन् । बाँस एकपटक लगाएपछि वर्षैसम्म बाँसले नयाँ तामा फलि रहन्छ ।

साउन महिना लागेसँगै बाँसका बोटहरुको झाँडीमा तामाका कलिला मुना आउन शुरु हुन्छ । यो क्रम भदौको मध्यसम्म चलिरहन्छ । तामा एक तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगाएतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । निकै स्वादिष्ट मानिने तामा पौष्टिक पनि हुन्छ ।

अहिले गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ थोर्गेलीहरुले आफ्ना बाँसका झँडी भित्रका कलिला तामाका मुनाबाटै नुन, तेल, चिनी लगाएतका वस्तुहरुको जोहो गर्ने गरेका छन् । घरछेउमा रहेका बाँसका तामा बिक्ने गरेको कृष्ण बहादुर क्षेत्रीले बताए । बारिका छेउ–छाउका तामा पनि बिक्न थाले यो पटक बीस किलो तामा बिक्री गरिसकेको क्षेत्रीले बताए । गाउँमा रहेका तामालाई स्थानीयकै घरमा पुगेर पैँचो पसलको संकलन गर्न थालेपछि तामाले बजार पाउन थालेको हो ।

थोर्गेलीहरुले साउनको पहिलो हप्तादेखि नै तामाका भारि बोकेर पैँचो पसलमा लैजाने गरेका छन् । हरेक बिहीबार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ को स्याल पोखरीमा रहेको पैँँचो पसलमा अनेक थरि तरकारी संकलन हुन्छ । तर साउन र भदौका बिहीबार भने थोर्गेली किसानले ल्याएका तामाको रास लाग्ने गर्छ । तामाको मुल्य घटबढ हुने गर्छ ।

यो हप्ता पैँचोले प्रतिकिलो १२ रुपैयाँमा तामा खरिद गरेको पैँचो पसल सन्चालक नवराज ज्ञवालीले बताए । एउटा सिजनमा करिब बीस टन भन्दा बढि तामा थोर्गाबाट पैँचोले खरिद गर्ने गरेको छ ।गाउँ घरमै आएर पैँचोले तामा संकलन गरिदिने हुनाले पनि किसानलाई सजिलो भएको रुरुक्षेत्र–३ का किसान लेखनाथ गौतमले बताए । स्थानीयले बारिका छेउ–छाउमा रहेका तामा बोकेर बजार बजार लैजाने गर्दैथे ।

बारीमा तामाले बाँसको झाङ्ग मात्र बढ्थ्यो तर तामा बिक्न थालेपछि नुन, तेल चलेको रुरुक्षेत्र–३ का कृष्णराज ज्ञवालीले बताए । पैँचोले संकलन गर्ने थोर्गेली तामाको बजार बुटवल हो । तामा बाँसका कलिला तामाका मुना पैँचो मार्फत बुटवल पुग्छ । बिक्ने जति बिक्छ नविकेको तामा रिडी बजारमा रहेको आफ्नो कारखानामा फर्काएर अचार बनाउँछ ।

अहिले बारीका तामा बिक्न थालेपछि थोर्गेली किसानहरु बाँसका तामा खोज्न भ्याइ–नभ्याई छ । पहिले पहिले तामा नबिक्दा बाडिचुडी खाने गर्दथे । तर बेच्ने गर्दैनथे । अहिले किशानहरु बेच्न मिल्ने तामालाई काटेर बुधबारनै बिहीबार पैँचो पसलमा लान ठिक्क पार्छन । साना मुना अर्काे हप्ताका लागि गाँजमै छाड्छन्