ताजा अपडेट »

जापानबाट ५ लाख खाेप आइपुग्यो, ३ लाख भोलि

शनिबार, २३ साउन २०७८

 काठमाण्डौं । जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए।

कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको उनले बताए । उनका अनुसार आइतबार थप दुई लाख ८७ हजार जोड खोप आउनेछ । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने उनले बताए । बाँकी आठ लाख खोप अर्को साता आइपुग्ने समेत उनले बताए । अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।

त्यस्तै स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई दिइनेछ । खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उनले बताए । तर, प्रदेश १ र २ मा भने खोप अभियान शुरु भएको केही दिन ढिलो गरी शुरु हुने उनले बताए।