४७ सालको बहुदलीय ब्यवस्था पछि नेपाली समाज सत्ता र प्रतिपक्षको घिनलाग्दो खेलबाट आजित छ। मिडिया नागरिक समाज राजनीति सबैतिर उनै प्रमुख दलका नेताहरुको जीवन ब्यवहार नै चर्चाको विषय हुने गरेको पाइन्छ । पछिल्लो हप्ता भने पूर्व पत्रकार सानो पार्टीका चुनावमा पराजित भएक नेताको एउटा ‘मार्ग परिवर्तन विचार भन्दा माथि देश’ शिर्षकको प्रस्तावले हलचल नै खडा गरेको छ।
कहिले विवेकशील कहिले साझा फेरि विवेकशिल अहिले विवेकशिल साझा हुँदै अघि बढेको टुट–फुट र एकताको चक्र लाउँदै नेपालको पुराना पार्टीलाई चूनौती दिन खडा भएको ‘वैकल्पिक राजनीति’ माथि पार्टी गठन पछि यो उच्चताको ध्यानाकर्षण कहिल्यै भएको थिएन।
जन्मदै थुप्रै भ्रमपूर्ण आरोप झेलेर अघि बढेको वैकल्पिक यात्रा विभाजन र एकता,वैचारिक अस्पष्टता, एजेन्डा विहिनता, संगठनात्मक क्षमताको अभाव तथा पार्टी ब्यवस्थापनमा अस्त–व्यस्त हालतमा पुगेको कारण मात्र होइन मुख्यालयदेखि स्थानीय तहसम्मका जिम्मेवार नेताहरुको बहिर्गमनका कारण पार्टी बिघटनको दिशामा नजिक गै रहेको बखत यो प्रस्तावले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ। रविन्द्र मिश्रको उक्त प्रस्तावमा मुलतः वैचारिक प्रस्तावको रुपमा संघीयता खारेज धर्म बारे जनमत संग्रह र गणतन्त्र बारे चिन्ता प्रकट गरिएको छ।
शासकिय आवरणमा रहेका यी ३ प्रस्ताव कल्याणकारी लोकतन्त्रको सारतत्व सहितको सहभागितामूलक लोकतन्त्र, सामाजिक न्याय र समतामूलक सम्वृध्दिको मार्गचित्र जस्ता बिषयहरु सहित वैकल्पिक राजनितीका गुदि कुरा भने यथावत नै छन। प्रचारमा ल्याएजस्तो माथी उल्लेखित वैकल्पिक राजनीतिका मूल अन्तरवस्तु छोडेर संघीयता र धर्मनिरपेक्षताको एजेण्डा मात्र बोकेर रविन्द्र मिश्रको प्रस्ताव आएको भने होइन ।
विकल्प हर क्षेत्रमा हुन्छ ।वैकल्पिक विचार आफैँमा राजनीति होइन। विचारलाई राजनीतिकरण गर्न राजनीतिक एजेण्डा चाहिन्छ। एजेण्डाले बिचारलाइ ब्राण्डिङ्ग गर्छ, ध्रुवीकरण गर्छ जसले सङ्गठनात्मक विकासमा योगदान गर्छ नयाँ सम्भावनाको ढोका खोल्छ। केन्द्रिय राजनीतिमा देशव्यापी स्थापित गर्छ। एजेण्डा सहि भयो भने जन–जनमा पार्टी पुग्छ।अधिकाम्श जनताले समर्थन गर्ने एजेण्डाको नेतृत्व गर्नु भनेको विशाल जनताको नेतृत्वको आधार खडा गर्नु हो।
वैकल्पिक पार्टीमा ५ वा ४ आधार भनिने रुपान्तरण विकास,सुशासन समृद्धि,सदाचार,पद्धति र पारदर्शिता भनेका संसार भरका मानिस संघ–संस्था सङ्गठन राजनीतिक दलले अपनाउन खोजिने सकारात्मक कुरा हुन्। यी राजनीतिक एजेण्डा होइनन् । भ्रष्टाचारको अन्त्य विश्वब्यापी समस्या हो र आजको विश्वमा यो जुन सुकै पार्टीको सार्वभौम सिद्धान्त भित्र पर्दछ। राजनीतिक यात्रामा राजनीतिक पार्टीले विश्वब्यापी सैद्धान्तिक कुराहरु मात्र बोकेर हुँदैन देशको विशिष्ट अवस्था आम जनताको मनोविज्ञान बुझेर राष्ट्रिय हित अनुकुलको राजनीतिक धारणा बोकेर अघि बढ्न सक्नु पर्छ।
पुराना दलहरुको असफलता राजनीतिक क्षेत्रमा मात्र थिएन । कुटनीतिक क्षेत्रमा समेत थियो। पुराना नेताहरुको सबै कर्म परिणाम स्विकार्दै अघि बढ्ने भए नविन राजनी िकिन चाहियो? असफल राजनीिितको आगत मात्र होइन खराव विगत पनि सच्याएर हिड्नु नै वैकल्पिक मार्ग हो। जन आन्दोलनका क्रममा पूर्वराजा महाराजा भन्दै पृथ्वीनारायण शाहको शालिक तोडेर आएका दलहरुको पिछलग्गु बनेर हामीले पनि तोड्दै हिड्ने कि सच्याउने मनन् गर्न जरुरी छ ।
वैकल्पिक पार्टी निर्माणमा जुटिरहेका विवेकशील साझा पार्टी भित्र पनि ठूलो बहस सृजना भएको छ। कतिपयको ध्यान रविन्द्र मिश्रको मार्ग परिवर्तन तिर मात्र गएको देखिन्छ। काङ्ग्रेस भित्र ठूलो समूह धर्म निरपेक्षताको विपक्षमा छ भन्ने कुरा काङ्ग्रेसको गत महाधिवेशनले पुष्टि गरेकै बिषय हो। एमाले भित्र केही दिनअघि केन्द्रिय समितिको बैठकमा संघीयता बारे पुनर्विचार गर्ने गरी छलफल प्रस्ताव गरिएको थियो। सारमा माओवादी र मधेश विद्रोहको डर त्रास र बलमा उल्लेखित संघीयता धर्मनिरपेक्षता एमाले काङ्ग्रेसमा प्रवेश गरेको हो। आज उक्त डर,त्रास र भयको वातावरण नभएपछि उक्त एजेन्डामाथि पुनर्विचार शुरु भएको छ।
आम नागरिकको चाहनालाइ मध्यनजर गर्दै नेपालका ठूला पार्टी काङ्ग्रेस एमालेले संघीयता र धर्म निरपेक्षता बारे अहिले भन्दा विपरित धारणा बोकेर चुनावी मैदानमा आए वा दुई तिहाइद्वारा संविधान संसोधननै गरे भने बैकल्पिक राजनितिक पार्टीले त्यसका बिरुद्ध कस्तो कदम चाल्छ? अवस्था बदल्न आएका हौं,ब्यवस्थासँग हाम्रो सरोकार छैन भन्दै संघीयता खारेज र धर्म सापेक्ष राष्ट्र बारे त्यतिबेला पनि मौन बस्छ? या जन आन्दोलनका उपलब्धि नासियो प्रतिगमन भयो भनेर अर्को क्रान्तिमा होमिन्छ? आज प्रगिममन र पश्चिगमन भयो भन्नेले जवाफ दिन सक्नु पर्छ।
बिदेशीहरुको रुचि प्रभाव र दवावमा आएका एजेण्डाहरु जन आन्दोलनका उपलब्धि हुन् या जनआन्दोलनका विकार भन्ने कुरा छुट्टयाएर अघि बढ्न जरुरी छ। संघीयता र धर्मनिरपेक्षता माथि विदेशीहरुको चाख जोडिएको कुरा घाम जत्तिकै छर्लङ्ग भै सकेको अवस्थामा उक्त एजेण्डाहरु माथि बलजफ्ती विवेक नपुर्याइ सति जान खोज्नु हुर्कदै गरेको वैकल्पिक राजनीतिलाई पनि साथ–साथै सति लैजानु हो।
नेपाल आफैमा प्रदेश जत्रो प्राचीन इतिहास र गौरव बोकेको देश हो! बिकासको आधी ल्याउने हो भने लुम्बिनी बाट मुस्ताङ्ग र रारा २ घन्टामा पुगिन्छ! मेची महाकाली ३ घन्टामा पुगिन्छ!बिकास बजेट कटाएर भुरे नेता पाल्न बाहेक किन चाहियो संघीयता ?बिदेशी दवावमा सार्वभौम अधिकार र क्षमता बिखण्डित गर्न जातिय क्षेत्रीय द्वन्द्व चर्काउनको लागि संघीयता ल्याइएको हो भने बेलैमा सोचेर पुनर्बिचार गर्नु त अग्रगामी कदम पो हो।
रविन्द्र मिश्रको मार्ग परिवर्तन नवीन राजनितिको उद्देश्य र गन्तव्य परिवर्तन होइन बरु उद्देश्य र गन्तव्यमा सिघ्र पुग्ने नया सुरुङ्ग मार्ग हो।कल्याणकारी लोकतन्त्र समतामुलक समृध्दी राष्ट्रिय हित लाई केन्द्रमा राखेर मात्र प्राप्त गर्न सकिन्छ।देशलाइ केन्द्रमा राखेर आगामी दिनमा घोषित राजनैतिक लक्ष प्राप्ती गर्न अनेकन सुरुङ्ग मार्गहरु खोल्नु पर्ने हुन्छ बैकल्पिक सुरुङ्ग मार्गलाइ सुरुङ्ग युध्दको भाषामा बुझ्ने गल्ति नगरौ। मार्ग परिवर्तन कल्याणकारी राज्य प्राप्तिको बैकल्पिक शुरुङ्ग मार्ग हो।
आज विवेकशील साझा पार्टी इतिहासको सवैभन्दा अनुकुल र संभावनायुक्त समयमा प्रवेश गरेको छ।केन्द्रिय राजनीतीको टाउकोमै हस्तक्षेप पुगिरहेको छ। सिद्धान्त,मार्गचित्र,एजेन्डा, मनोबिज्ञान, प्रस्तुतीका हतियारले उचाइ छुदै गएको छ। बस्तुगत परिस्थितिमा आएको बदलिदो अनुकुल प्रभावलाइ सङ्गठनात्मक बिकास र आत्मगत चुनौतीको ब्यावस्थापनमा उत्कृष्ट तवरले जुट्न सके धेरै राम्रो परिणाम आउने छ। अवको राजनैतिक दिशाले देशको मौलिक बिचार चिन्तन बोकेको रुपान्तरण सहितको जनताको बलियो राजनितिक पार्टीको रुपमा विवेकशिल साझाको उदय हुने मात्र होइन शदियौ देखिको नेपाल र नेपालीको स्वाभिमान सहितको समतामूलक समृध्दि सपना पनि पुरा हुने छ।
प्रतिक्रिया