ताजा अपडेट »

चोरी तस्करी न्यूनिकरणमा आक्रामक बन्दै रुपन्देही प्रहरी

बुधबार, २० साउन २०७८

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिभिन्न कम्पनिका मोबाईल सेट–३७ पिस, ईयरफोन–१ सय ७५ पिस, ब्लुतुथ–५ पिस र मोबाईलको व्याट्रि–१ सय पिस गरी जम्मा ८ लाख २० हजार रुपैया बराबरको अबैध मोबाईल र मोबाईलमा प्रयोग हुने समान बरामद गर्यो ।

यो समेत गरि जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तरगतका प्रहरी कार्यालयहरुबाट हिजो मात्रै ११ लाख १८ हजार रुपैया बराबरको समान बरामद गरेको छ । यस्तै प्रहरीले साउनको १० गते पनि २६ बोरा चिनि, १८ बोरा मटर, बिभिन्न किसिमका लत्ता कपडा, हुक्का स्मोक पाईप, हुक्काको आल्मिनियम ग्राईन्डर, हुक्का फेलेबर, हुक्का पाईप, हुक्का पेपर र मिनि हुक्का लगायतका बिभिन्न समानहरु गरि १४ लाख ४४ हजार बराबरको अबैध सामान भन्सार बुझाएको थियो ।

साउन महिना मात्र नभई अहिले प्रहरीको दैनिकी नै यस्ता लाखौ मूल्य बराबरका चोरी निकासीका मालवस्तुहरु बरामद गरि भन्सार कार्यालय बुझाउनु भएको छ । रुपन्देहीमा यस्ता चोरी निकासी ठप्प बनाउन नसकिए पनि यस्तो कारोबारलाई निरुत्साहित बनाउन जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहतमा रहने निकायहरु लागी परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाको भनाई छ ।

प्रहरी चोरी निकासीलाई निरुत्साहित गर्न कति सक्रिय रहेको छ भनेर गत आर्थिक बर्षमा प्रहरीले बरामद गरेको समानबाट पनि पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय एवम यस मातहतका बिभिन्न युनिटहरुबाट गत आर्थिक बर्ष २०७७/०७८ मा ९ करोड ८५ लाख २ हजार १२ रुपैया बराबरको समान बरामद गरि भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । आर्थिक बर्ष २०७६/०७७ मा यो रकम ४ करोड ८ लाख ८१ हजार १ सय ३४ रुपैया रहेको थियो ।

आर्थिक बर्ष २०७६/०७७ भन्दा आर्थिक बर्ष २०७७/०७८ मा दोब्बर मूल्य भन्दा बढीको अवैध समान पक्राउ गरिएको थियो । आर्थिक बर्ष २०७६/०७७ को साउन महिनामा २० लाख ६ हजार ७ सय ४२ रुपैयाको समान बरामद गरेको रुपन्देही प्रहरीले सक्रियता बढाउदै आर्थिक बर्ष २०७७/०७८ को साउन महिनामा १ करोड ९ लाख ५६ हजार ५६ रुपैयाको समान पक्राउ गरेको थियो ।

यस्तै गत आर्थिक बर्षकै भदौ महिनामा १ करोड १६ लाख ९९ हजार ३ सय २५ रुपैया, असोजमा ६८ लाख ४८ हजार २ सय १४ रुपैया, कार्तिक महिनामा १ करोड ४३ लाख ३७ हजार ४ सय ४९ रुपैया, मंसिरमा ८६ लाख ७७ हजार २ सय ९० रुपैयाको मालसमान बरामद गरि भैरहवा भन्सार कार्यालय बुझाएको थियो ।

यसै गरि पुष महिनामा ८६ लाख २७ हजार ४ सय ७५ रुपैया, माघमा ५५ लाख ६३ हजार ९ सय ३४ रुपैया, फागुनमा ६३ लाख २५ हजार ७ सय १५ रुपैया, चैत्रमा ६३ लाख ६ हजार ९ सय ४५ रुपैया, बैशाख महिनामा १ करोड ६ लाख ८० हजार १ सय ३३ रुपैया, जेठमा १४ लाख ६५ हजार २ सय ३० रुपैया र असारमा ७० लाख १४ हजार २ सय १६ रुपैया बराबरको समान बरामद गरिएको डिएसपी थापाको भनाई छ ।

यो जिल्ला प्रहरी कार्यालय रुपन्देही र त्यस मातहतका प्रहरी निकायका मात्र बराबमद गरेका समान हुन् । सीमामा नेपाल प्रहरीसंगै शसस्त्र प्रहरीको पनि ड्युटि रहेको हुन्छ । शसस्त्रले बरामद भएका समानका मूल्य यसमा समावेश नभएको थापाको भनाई छ । “महिनामै करोडौको समान पक्राउ हुन्छ यसले सीमामा चोरी तस्करी जारी रहेको भन्न सकिन्छ नि” भन्ने ग्लोबल आवाजको जिज्ञासामा डिएसपी थापाले सीमामा यो पेशामा लागेकाहरु अरु केही गर्नै नसक्ने दावी गर्छन । “हामीले उनिहरुको लाखौ मूल्यको समान पक्राउ गर्दा पनि उनिहरुले काम बन्द गर्दैनन् ।” थापा भन्छन् “हाम्रो उद्देश्य भनेको प्रहरी कर्मचारीहरु आार्थिक प्रलोभनमा परेर उनिहरुको साथ नदिउन भन्ने नै हो, जुन अहिले प्रष्ट देख्न सकिन्छ ।”

खुल्ला सीमाका कारण चोरी निकासीलाई शुन्यमा पु¥याउन नसकिए पनि त्यसलाई अधिक भन्दा अधिक रुपमा न्यूनिकरण गर्न सकिन्छ । यसको लागी प्रहरी सक्रियत बढाएर यस्ता चोरी निकासीका समान बरामद गर्ने र भन्सार चलान गर्ने प्रहरीको रणनिति रहेको थापा बताउछन् । चोरी पैठारी निकासी नियन्त्रणमा सीमा क्षेत्र संग रहेका बिभिन्न १७ वटा युनिटहरुको महत्वपूर्ण साथ रहेको थापाको भनाई छ ।

रुपन्देहीमा नेपालबाट केराउ, मदिरा, मसला, बोरा लगायतका समान भारत तर्फ चोरी निकासी गर्ने र भारतबाट खाद्यन्न, मोटरका पार्ट्सहरु, हार्डवेयर सामाग्री, मोबाईल र यसमा प्रयोग हुने सामाग्री, कपडा लगायतका समानहरुको चोरी निकासी हुदै आएको छ ।