साउन २३,
ग्लोबल आवाज
बुटवल । पर्यटन , संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले वर्तमान सरकारले चुनावमा गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् । बिहिबार प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले भने‘ दुई तिहाइको सरकारले चुनाव अघि गरेका सम्पूर्ण घोषणा समयमा नै पूरा गर्नेछ । वितेका वर्षमा गति लिन नसकेपनि दिशा भने सही लिएका छौं । सही दिशामा हामी अब गति बढाएर आगामी साढे तीन वर्षमा घोषणा पत्रका सम्पूर्ण योजना पूरा गर्नेछौं ।’ उनले हालसम्म दुई तिहाईको सरकारले अपेक्षा अनुसार गति नलिएपनि आर्थिक वृद्धिदर र अन्तराष्ट्रिय सम्बन्धमा भने सुधार ल्याएको बताए ।
उनले भने ‘पूराना समस्या,विकृति र भ्रष्टाचारका मुद्दाहरुलाई पनि यही सरकारका समयमा भएका जस्तो गरी आलोचना र आरोप लागे वर्षौदेखिका विकृति र समस्याहरुलाई समाधान गर्दै सरकार अघि बढ्यो यस दौरान आर्थिक वृद्धिदर ६ प्रतिशत पुगेको छ भने भारत,चीन जस्ता छिमेकी राष्ट्र लगाएत अन्तराष्ट्रिय सम्बन्धमा सुधार आएको छ ।’ हालै मात्र मन्त्री नियुक्त भएका भट्टराई भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलको अवलोकन तथा निरिक्षण लगाएत बुद्ध सभ्यतासँग जोडिएका स्थानको निरिक्षणका लागि रुपन्देही आएका भट्टराईले समयमै विमान स्थल निर्माण हुने बताए ।
उनले आगामी डिसेम्बर महिना भित्र भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल निर्माण सम्पन्न हुने बताए । उनले भने ‘म मन्त्री हुँदा बित्तिकै प्रधानमन्त्री ज्यूले पहिलो विषय यसै विमान स्थल दिनु भएको छ । उहाँले मेरो मूल्यांकन पनि यसैको कार्यान्वयनमा हुने बताउनु भएको छ । आगामी डिसेम्बर महिनामा विमान स्थल सूचारु गराउने मेरो सपना हो अब सबैले यही सपना देखौं पक्का पूरा हुन्छ ।’ मन्त्री बनेपछि पहिलो पटक रुपन्देही आएका भट्टराइले बिहिबार बिहान भैरहवा स्थित विमान स्थल अवलोकन तथा निरिक्षण गरेका थिए भने दिउँसो नवलपरासी स्थित रामग्रामको अवलोकन पश्चात बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागि भएका थिए । लुम्बिनी र पर्यटन वर्षको विषयमा बोल्दै उनले भिजिट नेपाल २०२० भव्यताका साथ सुरु गर्ने बताए ।
उनले भने ‘सन् २०२० को जनवरी महिनामा साट वटै प्रदेशबाट भिजिट नेपाल –२०२०को भव्य उद्घाटन हुने छ। विदेशमा रहेका ५० लाखले एक–एक जना पर्यटक पठाउने भनेपनि ५० लाख पर्यटक आउँछन् । उनीहरुलाई भुलाउन बुद्ध सर्किट,बुद्धसँग सरोकार राख्ने स्थानहरुलाई जोड्नु पर्दछ । यदि सच्चा नेपाली भए उहाँहरुले पर्यटक पठाउनुहुन्छ । हैन भने विदेशमा बसेर नेपालका नेतालाई गाली गर्ने,खाल्डाखुल्डीका तस्विर पोष्ट गरेर देश बनेन भन्नु गलत हो । ’ नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका मन्त्री भट्टराइले नेकपा पार्टी एकता ९० प्रतिशत भन्दा बढी भएको बताउँदै सम्भव भएसम्म दुई वर्षभित्र महाधिवेशन पनि गर्ने बताए । पत्रकार भेटघाट कार्यक्रम प्रेस संगठन नेपालका अमृत गिरीको अध्यक्षता र भुवन कार्कीको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया