ताजा अपडेट »

सात पटक स्थगित जोशीको भ्रष्टाचार मुद्दा, आज सुनुवाइ

विहीबार, २३ साउन २०७६

साउन २३,
काठमाण्डौं । विशेष अदालतबाट अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग ठहर भएका गोविन्दराज जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा जोशीसहित ३ जनामाथि परेको मुद्दाको सुनुवाइ हुने भएको हो।

जोशीसँगै उनका छोरा दिनेशराज जोशी र उनका काकाससुरा ताराराज पाण्डेविरुद्ध दायर रिटमाथि सुनुवाइ हुँदैछ। यसअघि असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा जोशीको मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको थियो। सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीले उक्त मुद्दाको सुनुवाइ गर्न नमिल्ने जनाएको छ।

गत जेठ २३ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका जोशीसहित ६ जनाविरुद्ध परेको मुद्दामा दिएको आदेश अनुसार अख्तियारले मगाइएका सम्पूर्ण कागजात सर्वोच्चमा उपलब्ध गराएको थियो। २०७२ असार ७ गते ओमप्रकाश मिश्र र जगदीश शर्मा पौडेलको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिए पनि हेर्न नमिल्ने भनेर स्थगित भएको थियो।

२०७२ मंसिर ६ गते वैद्यनाथ उपाध्याय र गोविन्दकुमार उपाध्यायको इजलासमा, २०७२ माघ ३ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासमा, २०७३ मंसिर ६ गते जगदीश शर्मा पौडेल र ईश्वरप्रसाद खतिवडाको इजलासमा, २०७४ असार ६ गते दीपकराज जोशी र जगदीश शर्मा पौडेलको इजलासमा र २०७४ साउन २२ गते चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने भनेर स्थगित गरिएको थियो।

त्यसैगरी, २०७४ पुस २४ गते हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा, २०७४ माघ २९ गते तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासमा, २०७५ जेठ २४ गते ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तानको इजलासमा र २०७५ भदौ २८ गते सारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासमा तोकिएको सुनुवाइ हेर्न नमिल्ने भनेर स्थगित गरिएको थियो।

यसैगरी, उक्त मुद्दाको सुनुवाइ सात पटक हेर्न नभ्याइने भनेर स्थगित भएको छ। अघिल्लो सुनुवाइपछि सर्वोच्चले अनुसन्धान अधिकृत नियुक्तिका बेला उठेको टिप्पणीको कागजात झिकाउन आदेश गरेको थियो। अकुत सम्पत्ति आर्जन गरे भ्रष्टाचारमा मुछिएका कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्वमन्त्री जोशीसहित ६ जनामाथिको मुद्दामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भनिएको थियो। जोशीमाथि २०६९ पुस ६ गते गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा परेको थियो। कांग्रेसका पूर्व सहमहामन्त्री जोशीले गृह, शिक्षा सहितका महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए।

सोही आधारमा अख्तियारले २०६९ वैशाख ६ गते विशेष अदालतमा जोशीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दर्ता गरेको थियो। अख्तियार प्रवक्ता कोइरालाका अनुसार जोशीमाथि तीन करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा चलाइएको थियो। साथै जोशीकी श्रीमती सविता पन्त जोशी, चोलाकुमारी पन्त, नीरकुमारी पन्त, बासुदेव पन्त र ताराराज पाण्डेविरुद्ध मुद्दा चलिरहेको छ। चोलाकुमारी जोशीकी श्रीमतीकी दिदी हुन्। नीरकुमारी सासुआमा हुन्। बासुदेव जोशीकी श्रीमतीका भाइ हुन्। ताराराज पाण्डेलाई चाहिँ बासुदेवका काकाससुरा पर्ने अख्तियारले जनाएको छ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको थियो। विशेषले जोशीलाई दुई करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ जरिवाना गरेको थियो।-नेपालन्युज