काठमाडौँ । नेपालमा कोरोनाभाइरस महामारीको 'तेस्रो लहरको सुरु भइसकेको र त्यो प्रारम्भिक अवस्थामा रहेको सङ्केत देखिएको" बताउँदै औषधोपचारलाई मात्र त्यसबाट जोगिने उपायका रूपमा नहेरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिन एक स्वास्थ्य अधिकारीले सबैलाई सजग गराएका छन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, "यतिखेर अस्पतालमा कोभिड भएर आउनेको सङ्ख्या फेरि बढ्न थालेको छ, तर अस्पतालबाहिरको व्यवहार भने महामारी नभएजस्तो परस्पर उल्टो छ।" देशको एक प्रमुख सरुवा रोग अस्पतालमा सबै शय्याहरू कोभिडका बिरामीले भरिएको बताउँदै त्यहाँका चिकित्सकहरूले त्यो "विगतमा झैँ देशकै अवस्थाको प्रतिविम्ब"का रूपमा बुझ्नुपर्ने बताएका छन्।
तर कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भने केही समय अवस्थाको निगरानी गर्ने तर तत्कालै कडा खालको लकडाउनमा जानेबारे नसोचिएको जनाएको छ।
काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा सघन उपचार कक्ष, भेन्टिलेटरदेखि वार्ड पनि कोभिडका बिरामीले भरिएपछि अहिले अस्पताल परिसरमा शय्याहरू थपिएको चिकित्सकहरूले बताएका छन्।
उक्त अस्पतालका क्लिनिकल रिसर्च एकाइ प्रमुख डा. शेरबहादुर पुनले अहिलेसम्म सङ्क्रमित नभएका, खोप नलगाएका र पहिलो लहरतिर सङ्क्रमित भएका मानिसहरू यतिखेर फेरि बिरामीका रूपमा टेकु अस्पतालमा आउने थालेको बताए।
विज्ञहरू यसअघि डेल्टा भेरिअन्टबाट सङ्क्रमित भइसकेका मानिसमा "भाइरल लोड" अर्थात् शरीरमा भाइरसको मात्रा उच्च हुने भएकाले उनीहरू सङ्क्रमित भएमा तिनले अरूलाई सार्ने जोखिम पनि उच्च हुने बताउँछन्। "पहिले सङ्क्रमित नभएका र खोप पनि नलगाएका मानिसहरू त्यसैले अहिले सबैभन्दा जोखिममा छन्। टेकु अस्पतालमा आउनेमा युवाहरूको सङ्ख्या अहिले धेरै छ," डा. पुनले भने।
त्यसैगरी नेपालमा केही सातादेखि सङ्क्रमण पुष्टि हुने दर २० प्रतिशतभन्दा बढी छ।

यद्यपि विश्वमै कोभिड महामारीबाट अतिप्रभावित देशमध्ये शीर्ष दोस्रो स्थानमा रहेको भारतमा विगत ५६ दिनदेखि कोभिड सङ्क्रमित हुने दर पाँच प्रतिशतभन्दा कम छ। यिनै तथ्याङ्कमाझ स्वास्थ्य सहप्रवक्ता डा. अधिकारीले केही सातामै कठिन अवस्था आउन लागेको सङ्केत आफूहरूले पाएको बताउँछन्।
"साउनयता देशभरि अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दो छ। यसबीचमा त्यसअघि नै पहिले एक व्यक्तिले एकभन्दा कम वा एक जनाको हाराहारीमा सङ्क्रमण फैलाउने प्रवृत्ति देखिएकोमा अहिले त्यो एकभन्दा धेरै वा दुईजनासम्म पुगेको छ।" सङ्क्रमण दर पाँच प्रतिशतभन्दा उच्च हुनुलाई विज्ञहरूले नियन्त्रण गर्न कठिन अवस्था बताउने गर्छन्।
यो वर्ष वैशाख-जेठमा सुरु भएको कोभिडको घातक दोस्रो लहरका बेला अस्पतालहरूमा शय्याको ठूलो अभाव हुनुका साथै अक्सिजनको हाहाकार भएका विवरणहरू सार्वजनिक भएका थिए। स्वास्थ्य अधिकारीहरूका अनुसार पहिलो चरणमा भने दोस्रो चरणको तुलनामा अस्पताल भर्ना हुन पर्नेगरी धेरै बिरामीहरू देखा परेका थिएनन्।

गत वर्षको भदौ तेस्रो साताको तुलनामा देशका मध्यम स्याहार-सेवादेखि विभिन्न पक्षमा विशेषज्ञ सेवा उपलब्ध हुने १, २ र ३ तहका अस्पतालमा तीनगुनाले शय्या बढाइएको सरकारी विवरणले देखाउँछ।
यी तीनै किसिमका अस्पतालमा सबै खालका बिरामीका लागि यतिखेर ३०,००० को हाराहारीमा शय्याहरू उपलब्ध छन्। अवस्था निकै जटिल बिन्दुमा पुग्दा सरकारले सबैजसो सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने गरेको थियो भने निजी अस्पताल र शिक्षण संस्थाका शय्याहरू समेत कोभिडका बिरामीका लागि निश्चित सङ्ख्यामा छुट्याउने निर्णय गरेको थियो।
साउन १२ सम्मको सरकारी विवरणअनुसार अहिले नेपालभरि २,८९१ एचडीयू, २,९४४ आईसीयू र १,०३६ भेन्टिलेटर कोभिडका बिरामी उपचार हुने अस्पतालहरूमा उपलब्ध भएको देखिन्छ।
सङ्ख्या बढाइए पनि महामारी उत्कर्षमा पुगेका बेला ती अपर्याप्त हुनुलाई अस्वाभाविक मान्न नहुने स्वास्थ्य अधिकारीहरूको मत पाइन्छ। "औषधोपचारबाट मात्र समाधान खोज्ने सोच्यौँ भने त्यसको विधि अझै स्पष्ट नभइसकेको हामीले हेक्का राख्नुपर्छ," डा. अधिकारी भन्छन्।
"त्यसकै लागि समेत अस्पतालमा एकैपटकमा धेरै बिरामीको चाप हुँदा थेग्न नसकिने वास्तविकता हामीले बुझ्नुपर्छ।" अघिल्लो लहरमा स्वास्थ्य सामग्री र पूर्वाधार भएका ठाउँमा समेत त्यसलाई सञ्चालन गर्न सक्ने जनशक्ति अभावमा ती प्रयोगविहीन भएका विवरण सार्वजनिक भएका थिए।
डा. अधिकारी थप्छन्, "त्यस्ता विशेषज्ञ जनशक्ति केही महिनाकै भरमा उच्च सङ्ख्यामा बढाउन सम्भव नहुने भएकाले भएकै जनशक्तिमा सीप हस्तान्तरण गर्ने काम यसबीचमा गरिएको छ। प्यारामेडिकदेखि मेडिकल अधिकृतहरूलाई आईसीयू वा भेन्टिलेटर सञ्चालन गर्न सक्ने तालिम यसबीचमा दिइएको छ।"
दोस्रो लहरका बेला दैनिक अक्सिजनको माग तीनगुनासम्मले बढेर ५०,००० सिलिन्डर पुगेको थियो।त्यस बेला नेपालका सरकारी र निजी गरेर ३२ वटा अस्पतालका मात्र आफ्ना अक्सिजन प्लान्ट थिए भने चारवटा अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको थियो।
त्यसयता देशका १९ वटा अक्सिजन प्लान्ट र २७ वटा अक्सिजन ट्याङ्क थप गर्ने योजना बनाइए पनि दुई वटाको मात्र काम पूरा भएको र चार वटाको पूरा हुने क्रममा रहेको स्वास्थ्य मन्त्रालयको विवरण छ। यसबीचमा ६,००० वटाभन्दा केही बढी अक्सिजन सिलिन्डर थपिएका छन्।
वैशाख तेस्रो साताबाट देशका अधिकांश जिल्लामा लगाइएको निषेधाज्ञालाई यतिखेर खुकुलो स्वरूपमा कायम राखिएको छ। अब तत्काल त्यस्तो स्वरूपमा जानेबारे नसोचिएको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बीबीसीलाई बताएका छन्।
तर सङ्क्रमितको बढ्दो सङ्ख्यालाई दृष्टिगत गर्दै 'स्मार्ट लकडाउन'मा जाने योजना बनिरहेको उनले बताए। "विभिन्न ठाउँमा हुने फरकफरक अवस्थालाई हेरेर त्यसलाई चार चरणमा विभाजन गरी सोही अनुसारका कडादेखि खुकुला प्रतिबन्धका नियमहरू लगाउने सोच हो।"
अधिकारीहरूले अबको रणनीति 'सङ्क्रमितहरूको साङ्लो तोड्ने' भएकाले सोहीअनुसार खोप, क्वारन्टीनमा बस्ने र सङ्क्रमितका सम्पर्क व्यक्ति पहिचान गर्ने काम गम्भीरतापूर्वक गरिने बताएका छन्। अहिलेसम्म झन्डै ९७ लाख मात्रा खोप देश भइरहेकोमा असोज मसान्तसम्म त्यो एक करोड ८४ लाख पुग्ने सरकारी आकलन छ।-बीबीसी
प्रतिक्रिया