ताजा अपडेट »

नेपाली ध्वजावहाक जहाज युरोपको आकाशमा उड्ने छ : मन्त्री भट्टराई

बुधबार, २२ साउन २०७६

साउन २२,
काठमाण्डौं । नेपाली ध्वजावहाक सहाज केही समयमा नै युरोप छिर्न पाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली युनियन (इयू)ले नेपाली जहाजलाई युरोप छिर्न लगाएको प्रतिबन्ध छिट्टै हटाउने भन्दै सो बारे जानकारी गराएका हुन् ।

बुधबार मन्त्रालयमा भएको कार्यक्रममा उनले भने, ‘उताको टोली अध्ययन गर्न आउँदैछ, अबको केही समयमा नेपाली झण्डासहितका जहाज युरोप जानेछन् ।’ इयूको प्रतिबन्धका विषयमा परराष्ट्र, प्रधानमन्त्री कार्यालयसहित आफूहरुले पनि काम गरिरहेको मन्त्री भट्टराईले बताए । ‘हामीले इयूको चासोलाई सम्बोधन गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई नियामक र व्यवस्थापक गरी दुई भागमा टुक्र्याउँदैछौँ, ऐन बन्दैछ, प्रतिबन्ध लामो समयसम्म नजाला ।’ मन्त्री भट्टराईले भने ।

यस्तै, उनले वायुसेवा निगम सुधारमा पनि काम सुरु गरिसकेको बताए । ‘वायु सेवा निगमको बारेमा मैले पद बहाली गर्दा वाह ! नेपाल वायुसेवा निगम भन्ने बनाउँछु भनेको हो । त्यो भन्नका लागि हैन, गर्नका लागि भनेको हो । यो ७ दिनमा मैले हरेक दिन छलफल गरेँ, यसलाई पार लगाउन भेन्टिलेशन खोल्ने हो ।’ उनले भने । निगमलाई उकास्न बुधबार एउटा कमिटी बनाएको र समितिले १ महिनामा प्रतिवेदन दिने उनले जानकारी दिए । समितिले आर्थिक अवस्था हेर्नेछ, साझेदारीको सम्भावना हेर्छ । मन्त्री भट्टराईले भने ‘समितिलाई मैले निशाना ताकेर हान्न भनेको छु । १ महिनामा काम सुरु हुन्छ ।’ मन्त्री भट्टराईले निगमका प्रमुख मदन खरेलसँग ‘बिजनेस प्लान’ मागेको र ग्राउण्डेड जहाज तत्काल उडाउन पनि निर्देशन दिएको बताए ।